नेपाली साहित्यिक क्षेत्रमा मदन पुरस्कारलाई सबैभन्दा प्रतिष्ठित मानिन्छ । मदन पुरस्कार घोषणा भएपछि साहित्यिक वृत्तमा नयाँ तरंग पैदा हुन्छ । कतिपयले यसलाई ‘नेपालको नोबेल पुरस्कार’ पनि भन्ने गरेका छन् ।
चार हजार रुपैयाँ राशिबाट सुरु भएको मदन पुरस्कार अहिले चार लाख रुपैयाँसम्म पुगेको छ । तर, यसलाई आर्थिक दृष्ट्रिबाट मात्रै भन्दा पनि प्रतिष्ठाको विषयसित जोडेर हेरिन्छ ।
त्यस्तै नेपाली साहित्याकाशमा मदन पुरस्कारबारे बहस भइरहन्छ । बेलाबेला यो पुरस्कार विवादमा पनि पर्ने गरेकाे छ । मदन पुरस्कारले कुनै पनि कृति र त्यसको लेखकलाई ‘ब्राण्डिङ’ गर्न सहयोग पुर्याउँछ । प्रस्तुत छ, मदन पुरस्कार पाउन सफल दुई साहित्यकारको पुरस्कार पाउनु अघि र पछिको अनुभवः
‘मदन पुरस्कार नपाएका कृति पनि उत्कृष्ट छन्’
सरुभक्त (मदन पुरस्कार बिजेता–२०४८)
नेपालको साहित्यिक इतिहासको प्रारम्भिक पुरस्कार हो, मदन पुरस्कार । नेपालका अधिकांश साहित्यकारलाई मदन पुरस्कारको लोभ लागेकै हुन्छ । स्वभाविक रुपमा मलाई पनि लोभ थियो ।
मेरो ‘पागल बस्ती’ उपन्यासले २०४८ सालमा मदन पुरस्कार पायो । जतिबेला म विद्यार्थी नै थिएँ, नयाँ लेखक थिएँ । ३० को दशकको समकालीन पुस्तामा मैले नै पहिलोपटक मदन पुरस्कार पाएँ ।
त्यति बेला ठूला लेखकका ठूला पुस्तक बजारमा थिए । तर उक्त पुरस्कार व्यक्तिलाई भन्दा पनि कृतिलाई दिइने भएकाले मैले पाएको हुँ । मदन पुरस्कार पाएपछि मलाई झन् बढी जिम्मेवारी बोध भयो । टाउकोमाथि भारी थपिएको अनुभूति भयो ।
मलाई लाग्छ कि, जिम्मेवारी महसुस गरेपछि नै पुरस्कारमाथि न्याय हुन्छ । कयौं मदन पुरस्कार पाउनेहरु पाठकको सम्झनामा छैनन् । यसले के बुझाउँछ भने पुरस्कारको चर्चाले मात्रै लेखक बाँच्छ भन्ने होइन । मदन पुरस्कार पाएको कृति जनताको मनमस्तिष्कमा बसेन भने त्यसको खासै अर्थ हुँदैन ।
मदन पुरस्कार पाउनु एकजना साहित्यकारको लागि उपलब्धी हो । लोकप्रीयताको दृष्टिले महत्वपूर्ण पक्ष हो । पुरस्कार पाउने कृति र साहित्यकार मात्रै उत्कृष्ट भन्ने चाहिं होइन । भूपी शेरचन, माधव घिमिरे आदिले यो पुरस्कार पाएनन् । तर मदन पुरस्कार नपाएर उनका उत्कृष्ट कृतिहरु उत्कृष्ट छन् ।
‘मदन पुरस्कारले साहित्य लेखनमा ऊर्जा थप्यो’
राधा पौडेल (मदन पुरस्कार विजेता–२०७०)
मैले कहिले पनि पुरस्कार र सम्मानका लागि केही काम गरिनँ । दुर्गम भेगमा काम गर्ने हुँदा सूचनामा पहुँच नभएकोले पनि मेरो साहित्य ओझेलमै थियो ।
अन्तर्राष्टिय रुपमा शान्ती निर्माणका काममा मैले दुईवटा पुरस्कार पाइकेको थिएँ । तर साहित्यवाट पुरस्कृत हुन्छु भन्ने कहिल्यै लागेन । जुम्लामा बसेको १८ वर्षको अनुभव छ । राज्यसत्ता परिवर्तन भयो, आममान्छेको भोगाइ फरक भएको छैन ।
मेरो भोगाईमा लेखिएको ‘खलंगामा हमला’ले मदन पुरस्कार पाएको खबर सुन्दा विश्वास नै लागेन । मैले ३ कक्षामा पढ्दादेखि मदन पुरस्कारबारे सुन्दै, पढ्दै आएकी थिएँ ।
अझैं याद छ कि, तीन कक्षा पढ्दै गर्दा हाजिरी जवाफ प्रतियोगितामा भाग लिएकी थिएँ । ‘नेपालको नोबेल पुरस्कार’ भनेर मदन पुरस्कारलाई बुझिन्छ र पहिलो मदन पुरस्कार पाउने महिला साहित्यकार पारिजात भन्ने जवाफ दिएर हाम्रो समूह प्रतिस्पर्धामा प्रथम भएका थियौं ।
आफूले सानैदेखि सुन्दै आएको पुरस्कार आफूले पाउँदा खुशी नहुने कुरै भएन । उक्त कृति लेख्दा दर्जन भन्दा बढी भाषामा अनुवाद गर्नु पर्छ भन्ने चाहिं थियो ।
पुरस्कार पाउँदा मैले सबैभन्दा बढी कर्णालीलाई सम्झें । यो पुरस्कारले मेरो साहित्य लेखनका लागि उर्जा थपिदियो । मलाई सधैं लाग्थ्यो, ‘साहित्यमा सिन्डिकेट छ, हो पनि रहेछ ।’ तर मैले यो पुरस्कार पाएपछि अर्को तीनवटा पुस्तक प्रकाशित गरें ।
त्यति मात्र होईन, गाउँघरतिर कतै जाँदा मेरो नाम आउनासाथ ‘खलंगामा हमला’ लेख्ने भनेर बुझ्छन् । त्यसले मलाई खुसी दिएको छ । अझ यो व्यक्तिलाई भन्दा पनि कृतिलाई दिइने पुरस्कार हो ।
मदन पुरस्कार सम्बन्धित सामाग्री पढ्नुहोस्
मदन पुरस्कार पाएपछि भन्थे, ‘राजाबाट ठूलो इनाम पाएका छौ रे नि ?’
‘महारानी’ २०० वर्षअघिको इतिहासको पुनर्लेखनः अन्तर्वार्ता