काठमाडौं– साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान ग्रहण नगर्ने घोषणा गरेका छन् । उनले सम्मानको विषयसँगै आफ्नो चरित्र हत्या गर्न खोजिएकाले सम्मान ग्रहण नगर्ने घोषणा गरेका हुन् ।
उनले नेपाली पब्लिकसँग भने, ‘मलाई सम्मान दिने निर्णय गरेको खेम हरिकला समाज कल्याण परिषदप्रति आभार प्रकट गर्छु । तर विवाद भएका कारण उक्त सम्मान आफूले नलिने घोषणा गरेको छु ।’
परिषदले २०७६ सालको पद्मश्री साधना सम्मान प्रश्रित र पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास हंसलाई दिने घोषणा गरेको थियो । उप्रेतीले एउटै मञ्चमा प्रश्रितसँग सम्मान नलिने घोषणा गरेपछि पुरस्कार ग्रहणको विषय विवादित बनेको छ ।
उनले भने, ‘सम्मान गर्ने संस्थाले दुवै जनालाई राखेर केही अन्तरक्रियात्मक कार्यक्रम गर्न खोजेका थिए तर मेरा बारेमा अप्रमाणित कुरा सुनियोजित तरिकाले उठाएर चरित्र हत्या गर्ने काम भएको छ । त्यसकारण म यो सम्मान लिन्न ।’
२०६३ सालदेखि खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले साहित्य, कला, संगीत, अभिनय क्षेत्रका वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान र वर्षभरिमा प्रकाशित नेपाली साहित्यका पुस्तकमध्ये उत्कृष्ट एक कृतिलाई पद्मश्री साहित्य पुरस्कार दिइन्छ । पद्मश्री साधना सम्मान र पद्यमश्री साहित्य पुरस्कारको राशि ३ लाख रहेको छ ।