आफ्ना सल्लाहकारले ‘एक पाखे’ भन्दा ‘पाखे’ भनेको भनेर आरोप लाग्यो भनेर बोल्नुभयो प्रधानमन्त्री । उहाँ बोलिराख्नुहुन्छ । भ्रष्टाचारको आरोप लागेपछि गोकुल बास्कोटाको समर्थनमा पनि उहाँ बोल्नुभयो । रामको जन्मभूमिबारे पनि बोल्नु भयो । कहिले भारतको कोरोना त कडा भनेर बोल्नु भयो । कहिले ‘गैंडा इज गैंडा’ भनेर गैंडालाई ‘राइनो’ भन्नेहरुलाई कटाक्ष गर्नुभयो । कोरोना जित्ने उपायबारे त के के बोल्नुभयो के के ?
पत्रकारितामा चलन भए जस्तो भने, गरे भनेको उहाँलाई मन पर्दैन त्यसैले उहाँलाई भन्नुभयो, बोल्नु भयो भनेरै सम्बोधन गर्न खोजिएको छ । तल लेख्दै जाँदा अरुको सम्बन्धमा लागु नुहुन सक्छ ।
प्रधानमन्त्री ओम्नीबारे, यतीबारे, ढकालबारे, पौडेलबारे बोल्नुभयो । बास्कोटा र खतिवडाबारे बोल्नुभयो । तर खै किन हो डाक्टर गोविन्द केसीबारे केही बोल्नु भएको छैन । हरेका कुरामा धारणा राख्न सक्ने हाम्रा प्रधानमन्त्रीले डाक्टर गोविन्द केसीको आमरण अनसन १९ दिन भइसक्दा पनि केही बोल्नुभएको छैन ।
- प्रधानमन्त्री आफैले भन्नुभएको छ ‘भ्रष्टाचारविरुद्ध बोल्दा मुखमा पानी हाल्दिँन’ । केसी पनि मुखमा पानी अनि अन्न नहाली भ्रष्टाचारविरुद्ध बोलेका छन् त ।
१८ दिनमा सरकारका प्रवक्ताले चाहिँ केही बोले जस्तो गरे । कोभिड महामारीमा अनसन बस्ने बेला होइन भन्दै सम्झाउन खोज्दै बाले । उनका माग पूरा गर्न पहिले गरिएका सहमति; सहमति चाँडै कार्यान्वयन हुन्छ भन्ने पटक पटकको आश्वासन; सहमति कार्यान्वयन हुन नसक्नुका कारण; के के सहमति कार्यान्वयन भइसके ? के के हुन बाँकी छन् ? बाँकी भएका कहिले हुन्छन् ? त्यसबारे सरकारका प्रवक्ता पनि केही बोलेनन् ।
जुम्लाको कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान, कैलालीको गेटा मेडिकल कलेज र दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढाई किन भएन भनेर सोध्नु अनि नगरेकोमा अनसन बस्नु कुनै नाजायज कुरा होइन । अछामको बयलपाटा अस्पतालका लागि बजेट छुट्याउनुपर्ने, मास्कको प्रयोग र सामाजिक दूरी कायम गर्दै पिसिआर परीक्षण व्यापक बनाउने पनि सरकारसँग माग राख्नुपर्ने कुरा हुन् र ? तर त्यस्तै मागमा अनसन बस्नुपर्ने कस्तो विडम्बना ।
अनि सरकारले नै केसीसँग सहमति गरे अनुसार सातै प्रदेशमा ७ वटा मेडिकल कलेज खोल्ने भनेको पनि ४ वर्ष वितिसकेको छ । यस्तो सहमति कार्यान्वयन किन भएन भनेर माग राख्नु के नाजायज हो ? चिकित्सा शिक्षा ऐन संशोधन गर्छौ भनेर सरकारले केसीसँग २०७५ साउन १० मा गरेको सम्झौता किन लागू भएन भनेर उनी आफैले सोध्न नपाउने अनि पटकपटक सोध्दा पनि केही जवाफ नपाउँदा उनी अनसन नै बसे भने के गल्ती गरे त ?
- अनि कम्युनिष्ट कार्यकर्तालाई यति पक्कै थाहा छ स्वास्थ्य र शिक्षामा व्यापार हुन सक्दैन । नयाँ विश्व समाजवादी धारणामा त सार्वजनिक यातायात पनि पर्छ भन्ने पनि धेरैलाई थाहा छ ।
केसीको यसपटकको नयाँ माग भनेको विभिन्न भ्रष्टाचारको मुद्दाको छिनोफानो होस् र दोषीलाई कारवाही होस् भन्ने हो । यो त आम जनताकै माग होइन र ? अनि प्रधानमन्त्री आफै भ्रष्टाचारप्रति शून्य सहनशील हुनुहुन्छ । अनि प्रधानमन्त्री आफैले भन्नुभएको छ ‘भ्रष्टाचारविरुद्ध बोल्दा मुखमा पानी हाल्दिँन’ । केसी पनि मुखमा पानी अनि अन्न नहाली भ्रष्टाचारविरुद्ध बोलेका छन् त । प्रधानमन्त्रीले बोल्नुभएको कुरा गरौं भन्दा पनि के असहज भो र ? तसर्थः केसीका माग नाजायज छैनन् ।
वास्तममा यो सरकारलाई थाहा छ । अझ कम्युनिष्ट पार्टीको सरकारलाई थाहा नहुने कुरै भएन । अनि समाजवादको बाटो हुँदै साम्यवादको सपना देखेरे पार्टीमा होमिएका कार्यकर्ताहरु त नेताले उठाउन नसकेको कुरा कमसे–कम डाक्टरले उठाए, स्वास्थ सेवा सुध्रिएला भनेर पक्कै भित्रभित्रै खुसी होलान् । कम्युनिष्ट पार्टीका कार्यकतालाई मेडिकल कलेज खोलेर व्यापार गर्ने कुनै चाहना पक्कै छैन होला । सर्वसुलभ निःशुल्क गुणस्तरीय स्वास्थ्य उनीहरुको चाहना नहोला भनेर कसरी मान्ने ? पक्कै पनि उनीहरुलाई थाहा छ नेताको नाममा सामूहिक लागानीमा सहकारी भन्दै अस्पताल खोलेर समाजवादी स्वास्थ्य संरचना बन्दैन । संसारमा जन्मेपछि जीउन पाउनु आमजनताको मौलिक अधिकार हो । अनि बाँच्ने बातावरणको लागि स्वास्थ्य उपचारको उचित व्यवस्था गर्नु सरकारको काम । अनि कम्युनिष्ट कार्यकर्तालाई यति पक्कै थाहा छ स्वास्थ्य र शिक्षामा व्यापार हुन सक्दैन । नयाँ विश्व समाजवादी धारणामा त सार्वजनिक यातायात पनि पर्छ भन्ने पनि धेरैलाई थाहा छ ।
अब किन समर्थन गर्न नसकेका होलान् त उनीहरुले डाक्टर केसीलाई भन्ने प्रश्न स्वभाविक हुन्छ । यसको एउटै जवाफ हो संसदीय प्रणालीको पार्टी राजनीति । जसमा आफ्नो पार्टी भन्दा इतर कुनै पार्टी वा व्यक्तिले गरेको राम्रै कामको पनि समर्थन नगर्न कार्यकर्ता प्रशिक्षित छन् । यसमा कुरा आउँछ क्रेडिटको ।
- केसी एक्लैपनि काफी छन् । सरकार झुकाउन उनी एक्लै सक्छन्; पटकपटक झुकाएका छन् । पटकपटक आफ्नो माग मनाएका छन् । तर, केसीले उनीहरुलाई इमान्दार बनाउन मात्र सकेनन् ।
काम त राम्रै हो । हामीले नै गर्नुपर्ने, गथ्र्यौ पनि; गर्ने भनेकै पनि थियौं । हामी त सिद्धान्त नै गर्ने खालको मानेर हिँडेको । अनि हाम्रो कुरा केसीले भन्ने । हाम्रै कुरा भए पनि उनले भने हुन्न । उनले नभनेको बेला गरौंला । अहिले केसी जति इमान्दार निष्ठावान भए पनि उनलाई माफियाको दलाल भनौं, विदेशमा विद्यार्थी पढ्न पठाउनेहरुको उक्साहटमा आन्दोलनमा बसेका भनेर प्रचार गरौं । कुरा र माग हेर्दा त्यस्तो नलागे पनि अहिले त्यस्तै भनौं । नेताले त्यस्तै भनेका छन्; आप्mनो नेतालाई बलियो बनाउनु पर्छ, उनीहरु गलत देखिनु हुन्न । यस्तै देखिन्छ कम्युनिष्ट कार्यकर्ताको मनस्थिति ।
अनि अरु पनि छन् नागरिक समाज भनाउँदा । आफूले आँट गर्न नसक्ने, आँट गरेकाहरुलाई पनि दिल खोलेर साथ दिन नसक्ने । छिस्स बेला बेलामा टिभीमा गएर बोल्यो । एउटा वक्तव्य निकाल्यो, त्यो पनि अब केसीले छोड्दैनन् माग पूरा गराएरै छोड्छन् भन्ने बेला ।
अनि मिडियामा पनि कित्ताकाट त हुने नै भयो । अनि कतिपय अरबिन्द केजरीवाल बन्न खोज्ने चाहनाका पार्टी अनि नेता बन्ने र सत्तामा जाने छोटो बाटो भेट्ने चाहनाकाहरुबीच चेपुवामा परेका छन् गोविन्द केसी । उनको मागप्रति खुला समर्थन गर्न नसक्ने धेरै छन् । नहुँदो हो त, केसी अनसन बसे लगत्तै सँगै निधारमा पट्टी बाँधेर अनसनस्थल वरपर बसेका भेटिन्थे होला, केसी ठिक हुन् भन्ने प्रवुद्धहरु । जसले गर्दा केसी एक्ला पर्ने थिएनन् । प्रशस्त दवावका कारण अन्तर्राष्ट्रिय दवाव पनि बढ्नसक्थ्यो र सरकार मागको सम्बोधन गर्न बाध्य हुनसक्थ्यो ।
तर केसी एक्लैपनि काफी छन् । सरकार झुकाउन उनी एक्लै सक्छन्; पटकपटक झुकाएका छन् । पटकपटक आफ्नो माग मनाएका छन् । तर, केसीले उनीहरुलाई इमान्दार बनाउन मात्र सकेनन् । इमानदार हुन त नैतिक हुनु पर्यो । अनि कसैमा नैतिकता भर्न सायद उनले सक्दैनन् । उनीहरु इमानदार नभएपछि केसी अनसन बसिरहन बाध्य छन् । सरकार यमानदार नबन्ने, केसी इमानदार बनेन भन्दै अनसन बसिरहने श्रृंखला कहिले टुँगिएला भन्न गाह्रो छ ।
सायद आम जनताले ‘डाक्टर केसी कसका लागि अनसन बस्छन्’ भनेर बुझेका दिन केसीको अनसन अन्तिम हुनेछ ।