पचासको पूर्वाधदेखि कविता साधनामा लागेका अभय श्रेष्ठका ‘फूलविनाको शाखा’ गजल संग्रह, ‘कायाकल्प कविता’ र ‘तेस्रो किनारा’ कथा संग्रह प्रकाशित भइसकेका छन् । ‘लहनामा तीर’ कविता संग्रह प्रकाशनको तयारीमा छ ।
क्रान्तिको हुरीसँगै व्यवस्थाहरू आए, गए
थरी थरीका शासकहरू आए, गए
त्यसरी नै सुकुनाराँका च्याप्जुबाजे गए
जिजुबाजे आए
अजा आए
बा आए
ऊ आयो
पुस्ता फेरियो
तर, फेरिएन उनीहरूको पसिनाको रङ्ग
फेरिएन माटोसँग पिरतीको साइनो
फेरिएन श्रमसँग हृदयको नातो ।
सुकुनाराँकी प्रेमिकाभन्दा बढी प्रिय
र, स्वास्नीभन्दा बढी मायालु
त्यही राजकुलामुनिको चुच्चेखेत हो
जसमाथि अब लमतन्न सुत्नेछ चिल्लो सडक ।
जसरी महादेवका लागि हिमालय पर्वत
थियो तपस्या स्थल
जसरी प्रेमीहरूका लागि एकान्त उपवन
थियो पवित्र तीर्थस्थल
जसरी चराहरूका लागि खुला आकाश
थियो लोकतन्त्र
सुकुनाराँका लागि
दिनहुँ सँघारमा पिखलखु ढोगेर पुग्ने
स्कुल त्यही चुच्चेखेत
धिमे, भुस्याः र म्वाहालिको धुनमा रमाउँदै पुग्ने
कलेज र विश्वविद्यालय त्यही
चोटाको दिगुद्य र खोपाको भिन्द्यजस्तै
मन्दिर र प्रेमको पवित्र तीर्थस्थल त्यही ।
जीवनको क्रूर ठस्साको गुफामा च्यापिँदा च्यापिँदा
अलिकति फुपू र दिदीको बिहेमा
अलिकति बहिनीको इहि र भिंबाह्रामा
अलिकति दाजुभाइको बिहेमा
घडीको सुईझैँ बर्सेनी घुमिआउने
मोहनी, स्वन्ति, पाहाँचह्रे
र, साँझको पाहुनाझैँ टुप्लुक्क आइलाग्ने
अरू अरू भोजमा
बिस्तारै बिस्तारै फिरी बराबर
कुनै तल्सिङका नाममा
कुनै दलालका नाममा
र, कुनै गाउँकै ठालूका नाममा नामसारी हुँदै गए
उसको पुर्खाको पवित्र मन्दिर अर्थात् जमिन
र, बाँकी रह्यो त्यही चुच्चेखेत ।
संसारको नाफाखोर हावा सोह्रोरिएर
जब एक दिन सुकुनाराँको गाउँमा पनि
फैलियो स्मार्ट सिटीको बाघपन्जा
महाभूकम्पझैँ
एक्कासि त्यही चुच्चेखेतको डिलमा पनि,
घर घरको मझेरीमा पनि
हाजिर भए स्मार्ट सिटीका हाकिम
र, फित्तावाल इन्जिनियरहरू
र, एकाएक चुच्चेखेत र घरको मझेरीबाट
गयल भयो सुकुनाराँ ।
भारदारझैँ नेताहरूको चाकरीमा
हाजिर हुन जानेको भए
अड्डा, अदालत धाउन
हाकिमहरूको साखुल्ले हुन
मौसमअनुसार यसो रङ फेर्न
मौकाअनुसार जालझेल गर्न
र, अभरमा परेका अरूको जमिन
चप्काउन सकेको भए कुरा बेग्लै हुँदो हो
जसरी दलालहरूले
आफ्नो जमिनलाई छुने गरी
सोझ्याउन सफल भए सडक
नेता र नन्दीसँग साखुल्ले हुन सकेको भए
उसको चुच्चेखेत
र, घरको मझेरी पनि बच्दो हो
जसको पेसा नै
पसिनाले हरियाली सिँच्ने काम,
नेता र नन्दीसँग उसको के काम ?
जसरी ‘हावा कसैको हुँदैन
सास फेर्नेकै हुन्छ
जसरी घाम कसैको हुँदैन
ताप्नेकै हुन्छ
जसरी बर्सेको पानीको भेल कसैको हुँदैन
छोप्नेहरूकै हुन्छ
त्यसरी नै हरियाली जमिन कसैको हुँदैन
खनजोत गर्नेकै हुन्छ’
अब सुकुनाराँको पसिना
बहाउने जमिन कहाँ छ ?
त्यहाँ त उसकै प्राणमाथि
उभिएको स्मार्ट सहर छ ।
जब सारङ्गीझैँ खाली हुन्छ पेट
जब हुँदैन गर्नलाई कुनै काम र जानलाई कुनै ठाम
त्यसपछि नै सुकुनाराँ ज्यापू
माटोको हृदयमा प्रेमपूर्वक स्पर्श गर्ने औजार
सत्ताविरुद्ध उज्याउन बाध्य हुन्छ ।
...
नोटः * विपीको विचार ।
-------------
अरु कविताहरु पनि पढ्नुहोस्
पृथ्वी/अपृथ्वी- मनप्रसाद सुब्बा
जादु– कल्पना चिलुवाल