बिजनबारी, दार्जिलिङ, भारत निवासी कवि मनप्रसाद सुब्बा –जन्म– १९५२ सेप्टेम्बर ३) तीसको दशकमा कविता लेख्न थालेका हुन् । उनका ‘बिब्ल्याँटो युगभित्र कार्टुन मान्छेहरू’, ‘बुख्याँचाहरूको देशमा’, ‘उष्मा, आदिम बस्ती’, ‘ऋतु क्यानभासमा रेखाहरू’, ‘अक्षर–अर्केस्ट्रा’, ‘किनाराका आवाजहरू’, ‘भुइँफुट्टा शब्दहरु’, ‘मनप्रसाद सुब्बाका प्रतिनिधि कविताहरु’ प्रकाशित छन् । ‘नेत्तिफुङको बास्ना’ (द्विभाषिक प्रेम कविता संग्रह), ‘त्यो मोड्सम्म पुगेको मान्छे’ (लघु उपन्यास) र ‘किनारा विमर्श’ (किनारीय लेखन अवधारणा सम्बन्धी लेख संग्रह–संयुक्त तथा सहलेखन) प्रकाशित छन् ।
उनीहरूले एक दिन मलाई
विशेष अतिथि हो कि विशेष ग्राहक बनाएर
यौटा यस्तो ठाउँमा पुर्याए
जहाँ थिए ‘देवीदेवताहरु’
र उनीहरूका प्रतिनिधि यक्षहरू मात्र
अनि ती प्रत्येकसित गराइयो मेरो परिचय ।
उनीहरू ‘हल्लो’ भन्दै मसित हात मिलाइरहेका थिए ।
उनीहरूका शरीरबाट निस्किरहेको अत्तर–बास्नाबीच
बेपत्ता होला जस्तो भइरहेको थियो मेरो पसिनाको गन्ध ।
अनि जब त्यो भव्य भवनको खिड्कीबाट बाहिर हेरिपठाएँ
पृथ्वी त कता हो कता टाढा लाग्यो ..
म उकुसमुकुसिएँ
भित्रभित्रै छटपटिएँ
र सोच्न थालेँ त्यहाँबाट उम्कने उपाय...
केही छिनपछि
माझको मञ्चबाट
एक जना देवताले वक्तव्य दियो –
‘हामी पृथ्वी परिवर्तन गर्ने परिकल्पनामा लागिपरेका छौं..’
अनि उसले
‘दिव्य’ पावर–पोइन्ट माध्यमद्वारा
परिकल्पनाको प्रारूप प्रदर्शन गरिरहेको थियो ।
आफ्नो प्रस्तुति टुङ्ग्याउँदै उसले भन्यो –
‘आज हामीबिच हाम्रा अतिथि
पृथ्वीको पल्लो पाखामा बस्नेहरूका एक प्रतिनिधि छन्
(मतर्फ दाहिने हात तेस्र्याउँदै)
उनले हाम्रो परिकल्पनामाथि मन्तव्य राख्नेछन् ।’
अकमक्क पर्दै उठें म ।
तर अचम्म
कि हठात् मेरो वाक्के कड्केर फुट्यो –
‘पृथ्वीलाई यसरी टाढा पार्ने यो अपृथ्वी
जहाँ पसिनाको गन्धले निर्धक्क सास फेर्न पाउँदैन,
कसको सृष्टि हो यो ?
अपृथ्वीका अदृश्य अक्कलहरू
किन पृथ्वीलाई पिर्ने परिकल्पनाहरू गरिबस्छन् ?
ए पृथ्वीवासी हो !
उठ
अनि त्यो अपृथ्वीको अ–लाई
च्वाट्ट छिन्ने गरी काट !
त्यै अ–ले सिर्जेको हो यो दुरत्वको अँध्यारो भ्वाङ !’
-------------
अरु कविताहरु पनि पढ्नुहोस्
पृथ्वी/अपृथ्वी- मनप्रसाद सुब्बा
सुकुनाराँ ज्यापूको तीर्थस्थल- अभय श्रेष्ठ
जादु– कल्पना चिलुवाल