भारतको दार्जिलिङमा सन् १९३७ मा जन्मेकी हुन् । नेपालमै बसेर साहित्य कर्ममा जुटेकी उनको मृत्यु वि।सं. २०५० सालमा भएको थियो । पारिजातका ‘शिरीषको फूल’, ‘महत्ताहीन’, ‘बैंसको मान्छे’, ‘परिभाषित आँखाहरु’, ‘तोरीबारी, बाटा र सपनाहरु’, ‘अन्तर्मुखी’ र ‘उसले रोजेको बाटो’ गरी ७ उपन्यास छन् । ‘आदिम देश’, ‘सडक र प्रतिभा’, ‘साल्गीको बलात्कृत आँसु’ र ‘बधशाला जाँदा आउँदा’ गरी ४ कथा संग्रह छन् । ‘आकांक्षा’, ‘पारिजातका कविता’ र बैंसालु वर्तमान’ कविता संग्रह छन् ।
‘धुपी, सल्ला र लालिगुराँसको फेदमा’, ‘एउटा चित्रमय शुरुआत’ र ‘अध्ययन र संघर्ष’ संस्मरण संग्रह हुन् । पारिजातका संकलित रचनाहरु निर्माण प्रकाशन सिक्किमबाट ६ ओटा ग्रन्थका रुपमा प्रकाशित छन् । पछिल्लो समय नेपालबाट पनि संकलित ग्रन्थ प्रकाशित छन् ।
झिसमिसेका ताजा जाँगरहरुलाई
छातीभरि कवच जस्तै लपेटी
खेत, आली, सडक र गाह्रोहरुतिर
सल्बलाउने,
पोटिला नशाहरुले जेलिएका
खैरा हातहरुको हतियार भिरी
पसिनाको दहमा एकातिरबाट हामफाल्छ,
एउटा निमुखा बुढा
र क्षितिजलाई राताम्मे पार्दै
अस्ताउने घामजस्तै
कता–कता निर्माण कार्यहरु हुँदो आफ्नो रगतको टाटो पोत्दै
दिनभरी पौडी खेलेर
साँझ दहको अर्कोतिरबाट निस्केर
लुरुलुरु घर फर्कन्छ
त्यही निमुखा बुढा
उसको विपना बुढो गोरुको वाध्यता
कठै गरोस् के ?
उसको सपना पनि त
बुढो गोरुको संस्कार
सपनामा पनि उसका जोशहरु
बौरी–बौरी उठ्छन् ’रे
हातहरु त यसै–यसै चल्मलाउँछन् ’रे,
उसको विगत
झुत्रो सुकुलमा उसँगै सुत्छ
तीखा काँडाहरु भएर उसलाई बिझाउँछ
र उसको भविष्य
हाल उसको वर्तमान भएर
तीन खाप टालेको उसको भोटोसँग
एकाकार हुँदै बाँचेको छ
उसको अलिनो सितन र मलिनो आँखाहरुसँग
विज्ञापन भएर बाँचेको छ
के उसको भविष्य नै थिएन ?
के उ भविष्यहीन जन्मेको थियो ?
भविष्यहीन खटिएको थियो ?
र, भविष्यहीन पिल्सिएको थियो ?
के उसको न्वारानमा लेख्न आउने
चोर भावीले यस्तै–यस्तै लेखिदियो ?
त्यसैले त युवा मनहरु हो !
हुरी र आँधीको वेगहरुसँग तिखारिएर आउ
यस ज्यानमारा भावीको
परम्परामा हत्या गरिदेउ,
संस्कारमा हत्या गरिदेउ,
धर्ममा भए त्यहीं हत्या गरिदेउ,
महानवाणीहरुमा पनि हत्या गरिदेउ,
किनकि
हामीलाई राम्रैसँग थाहा छ
यस्ता निमुखा बुढाहरुको भविष्य कहाँ हुन्छ भनेर,
यस्ता बुढाहरुको भविष्य
विकास फाइलहरुमा दबेर बसेको छ,
कारखानको सेयरहरुमा जाँदैछ, भरिदै छ,
सडक, पुल र भावनाहरुमा,
योजनाहरुको काप कापमा विकसित भएर बसेको छ,
ठूला मान्छेहरुको पेट–पेटमा, खल्ति–खल्तिमा
ऐश्वर्य र विलाशहरुमा
विदेशी बैंकहरुमा पनि
फलेर फुलेर बसेको छ
यो भविष्य,
एउटा विन्ति पत्र लेखेर
अलिकति घुस खुवाएर, सोर्स–फोर्स लगाएर
अथवा एक झरी वर्षाजस्तो एक झर नारा लगाएर हुने होइन
दुईचार जना मान्छे मारेर पनि हुने होइन
त्यसैले एक जागरुक युवा पाखुराहरु हो !
हावा भरि–भरि लहलहराउँदै
इतिहासको यसै मोडमा आएर
आफ्ना वर्तमानहरुलाई
धरौटी राख
यस व्यवस्थालाई टक्टकाउन थाल
यस व्यवस्थालाई हिसाब माग
यो त पसिना नुहाउनेहरुको
मुक्ति आन्दोलन हो
यो त एउटा वर्गको नै भविष्यको ग्यारेन्टी हो,
यो त एउटा भिषण युद्ध हो ।
(कविता २०५४ सालमा प्रकाशित पारिजातका संकलित रचना भाग १ बाट लिइएको हो ।)
अरु कविताहरु पनि पढ्नुहोस्
पृथ्वी/अपृथ्वी- मनप्रसाद सुब्बा
सुकुनाराँ ज्यापूको तीर्थस्थल- अभय श्रेष्ठ
जादु– कल्पना चिलुवाल
गिट्टी फोर्ने बालक – सरुभक्तको कविता
एउटा निमुखा बुढाको भविष्य - पारिजातको कविता
गलैंचा बुन्नेहरुको गीत - अविनाश श्रेष्ठको कविता
जुत्तामा पालिस लगाउने मजदुर - कृष्णभूषण बलको कविता
उसको भागमा जिन्दगी - जसराज किराँतीको कविता
एउटा मजदुर आफ्नो इतिहासको तीन अध्याय लेख्छ - विमल निभाको कविता