सरुभक्त सन् १९५५ अगष्ट २५ मा पोखरामा जन्मेका आफ्नै ठाउँमा साधनारत छन् । उनका ‘एसोधम्मो सनंतनो’, शिशिरका अन्तिम दिनहरु’, ‘युद्धः उही ग्यास च्याम्बर भित्र’, ‘सिरुमारानी’लगायत ११ नाटक संग्रह, ‘इतर समय’, ‘प्रयोगशालाभित्र’ कविता संग्रह, ‘ भेडीगोठ’, ‘कापुरुष’, ‘झुमा’, ‘ज्यानमाया’लगायत ६ खण्ड काव्य, ‘यमागल’, ‘पदार्थहरुको गीत’, ‘छोरी ब्रम्हाण्ड’लगायत ५ विज्ञान कथा संग्रह तथा उपन्यास, ‘तरुनी खेती’, ‘पागल वस्ती’, ‘चुली’ र ‘प्रतिगन्ध’ गरी ४ उपन्यास, ‘बाङटिङ्गा धर्साहरु’ संस्मरणात्मक निबन्ध संग्रह गरी ३९ कृति प्रकाशित छन् ।
ऊ
सिस्नुको झोलसित ढिडों खान्छ
अनि,
टिफिन बक्स बोकेर
स्कूल जाने
आफ्नै उमेरका
किताबी भरिया बालकहरुलाई
उदेक मानी हेर्छ
उसकी आमा खोलाको बगरमा बसेर
गिट्टी फोर्छे,
र छेवैमा पोलिएको मूर्दालाई
सम्वेदनाशून्य आँखाले हेर्छे
ऊ
मूर्दा पोलिएको आगोदेखि
रमाउँछ
र ढडिया थापिएको पोखरीमा
नाङ्गै पौडी खेल्छ
ऊ कहिलेकाहीं
स्कूल गएको परिकल्पना गर्छ
अनि सधैं
थाकेकी आमालाई
पालो दिएर गिट्टी फोर्छ
गिट्टी फोर्दा
उसलाई भोक लाग्छ
तर आमाको दूधमा
उसको अधिकार खोसिएको छ
उसको भोक
गिट्टीमाथि खनिन्छ
र ऊ गिट्टी फोर्दै जान्छ
गिट्टी फोर्ने बालक गिट्टी फोर्छ
समाज फोर्न सक्दैन
गिट्टी फोर्ने बालक गिट्टी फोर्छ
व्यवस्था फोर्न सक्दैन
गिट्टी फोर्ने बालक गिट्टी फोर्छ
देश फोर्न सक्दैन ।
(उक्त कविता २०५८ सालमा प्रकाशित ‘प्रयोगशालाभित्र’ संग्रहबाट लिइएको हो ।)