तीसको दशकदेखि काव्य साधनामा जुटेका विमल निभाको ‘आगो नेर उभिएको मानिस’, ‘बाहुला नभएको बुसर्ट’ र ‘जोकरको बन्दुक’, कविता संग्रहहरु र ‘डाइनोसोर जिउँदो छ’, ‘छेउको बधशाला’, ‘चौथो कालम’ व्यंग्य निबन्ध संग्रह प्रकाशित छन् । ‘डेगेन्द्र राजवंशीको आत्महत्या’ कविता संग्रह प्रकाशित हुँदै छ ।
म इतिहास लेखिरहेछु
यो मिश्र देशको उपाधिकारी राजा ‘फराओन’ र उसको
देउता ‘प्ताह’ र ‘ओसिरिस’को सहस्रौं वर्ष
पुरानो इतिहास होइन
न क्यालिफोर्नियाको भयङ्कर दानव ‘गोबिला’को
प्राचीन अमेरिकन इतिहास हो
र इङ्गयाण्डको जैरो मठमा रहने ‘बिड’को मध्ययुगको धार्मिक इतिहास
भ्अअभिकष्बकतष्अब िज्ष्कतयचथ पनि होइन
हामी यस विश्वकै मानव हौं
र यहाँको मानव इतिहासमा हाम्रो पनि स्थान हुनुपर्छ
त्यसैले यस विश्व इतिहासको कुनाकाप्चामा
जहाँ करुण क्रन्दन छ
जहाँ लामो सुस्केकार छ
जहाँ ठूलो पुकार छ
त्यसैले एउटा सानो सँगालो हाम्रो देशको यो इतिहास हो
यो इतिहासको प्रथम अध्याय मेरा बाजेदेखि शुरु हुन्छ
प्रथम अध्याय
...उहिले उहिले एउटा गाउँमा मेरोृ बाजे हुनुहुन्थ्यो
उहाँले आफ्ना खेल्ने दिनहरु ढुङ्गा बोक्नेहरुसँग
साट्नु भएको थियो
र बुढेसकालको आयु जमिन्दारको हन्टरसँग नाप्नुभएको थियो
अनि उकदिन भनेजत्तिकै बाली तिर्न नसकेकाले
उहाँको सानो छाप्रामा जमिन्दारका
गाई, बाख्रा र भेडाहरु कराइरहेका थिए
र उहाँको लाचार परिवार पानी परिरहेको रात
घाँसको चौरमा मौन थियो
(साँच्चै, यस्तै छ एउटा किसानको इतिहास
एउटा बाजेको इतिहास)
जति दिन उपवास बसेर गान्धीको नाउँ अखबारमा
कोरिएको थियो
त्यसभन्दा धेरै दिन उपवास बस्नु परेर
मेरा बाजेको नाउँ यमराजको अखबारमा कोरिएको थियो
(यत्ति हो मेरा बाजेको इतिहास
र हाम्रा इतिहासको एक अध्याय
जुन मेरा बुबाको जन्मिँदाखेरीको रुवाइमा
करुण क्रन्दनको रुप लिएर
दोस्रो अध्याय थप्न जन्मिन्छ)
दोस्रो अध्याय
...दुःख भरिएको भाका बोकेर
मेरो बुबाको जन्म भएको थियो
(र मानव इतिहासको दुःखको पोकामा एउटा दुःख
थपिएको थियो)
उहाँले मातृत्वको छाया त्यसबखत
पाउनुभएको थियो
जब दूध सुकेर मेरी बजैले उहाँलाई
औंला चुसाउनुभएको थियो
र पिताको प्यार त्यसबखत
पाउनुभएको थियो
जब छापको सानो संसार छाड्नुपरेर
बाजेले चौरमा शरण लिनुपरेको थियो
उहाँले घाँस खाएर आफ्नो वीर्यका थोपाहरु
जम्मा गर्नुभएको थियो
त्यसैले आज उहाँको छोरो पशुझैं पहाड घोटिरहेछ
अनि एकदिन बिरामी भएर काम गर्न नसक्दा
जमिन्दारको जति हन्टरका दागहरु
उहाँका जीउमा थिए
आज त्यही नै मेरा नीला–नीला नसाहरुमा
परिणत भएको छ
बरखोयाँस्कको झैं जाडोमा एउटा सानो लँगौटीमा
र यसैगरी फेरि एउटा किसानको आयु रित्तिन्छ
मेरो बुबाको जीवन टुङ्गिन्छ
हाम्रो इतिहासको दोस्रो अध्याय सिद्धिन्छ
तेस्रो अध्याय
...अहिले वर्तमान जिन्दगीमा म छु
समुद्रमा फ्याँकिएको गहुmँभैंm निरर्थक जिन्दगी बोकेर
म चामल भरिएको बोरा लाद्छु
खाली बोरा भएर
दस दिनसम्म भोको बसेर एक दिन
रु १० को सिक्का कमाएको थिएँ
जसमा अङ्कित थियो
‘सबैका लागि खाद्य’
एकदिन ज्वारोले पीडित भएर
अस्पताल गएको थिएँ
तर अस्पतालका ढोका बन्द थिए
किनभने त्यो दिन थियो ‘विश्व स्वास्थय दिवस’
रकेटमा बसेर अमेरिकनहरु
चन्द्रमाका लागि उडेको दिन
मेरो छाप्रो पनि हुरीको रकेटमा बसेर
उडेको थियो
मैले पसिना ओछ्याएर बनाएको सडबकम
अस्ति मेरा वीर्यका जीवित थोपाहरु
मोटरको पाङ्ग्रातल छ्यालब्यालिएका थिए
र आजभोलि त्यही मन्दिरका खुला ढोकाहरु
मेरा लागि बन्द छन्
जसलाई बनाउन मेरो रगत बलिदान
भएको थियो
किनभने म तल्लो जातको छु रे
.साँच्चै, यस्तै छ एउटा तल्लो जातको इतिहास
एउटा मान्छेको इतिहास
एउटा मजदुरको इतिास)
शीर्षकविहीन मेरो वंशको यो अधुरो इतिहास
म समर्पण गरिरहेछु आफ्नो छोरालाई
किनभने मेरो प्यारो छोराले
यसमा अरु अध्याय थप्नेछ
रिक्सा चलाएर
पसिना ओछ्याएर
रगत सिध्याएर
टिप्पणी
ए, मेरा बाजे र बुबा हो !
मलाई ईष्र्या छ तिमीहरुदेखि
तिमीहरुले छुट्कारा पाएर भेट्टएका छौ
एक टुक्रा चिहानको भूमि
र कात्रोको लुगा
तर मलाई हेर
तिम्रो त्यही प्यारो आफ्नो अंशलाई हेर
मैले त एक इन्च भूमि पनि भट्टाउन सकेको छैन
र अहिलेसम्म नाङ्गै नै छु
पुनश्च
ए, मरिसकेकाहरुको चिहान पल्टाउने पुरातत्वका
अन्वेषकहरु हो !
हाम्रो आत्माको खण्डहरमा केलाएर हेर त
यहाँको ताम्रपत्रमा तिमीहरु लेखेको हेर्नेछौ
हामीहरु पनि कसैका सिन्दुर हौं
कुनै बुढाको लौरो हौ
र केटाकेटीहरुका सहरा हौ ।
(२०२६ सालमा लेखिएको यो निभाको पहिलो कविता हो । कविता बाहुला नभएको बुसर्ट संग्रहबाट लिइएको हो ।)
अरु कविताहरु पनि पढ्नुहोस्
पृथ्वी/अपृथ्वी- मनप्रसाद सुब्बा
सुकुनाराँ ज्यापूको तीर्थस्थल- अभय श्रेष्ठ
जादु– कल्पना चिलुवाल
गिट्टी फोर्ने बालक – सरुभक्तको कविता
एउटा निमुखा बुढाको भविष्य - पारिजातको कविता
गलैंचा बुन्नेहरुको गीत - अविनाश श्रेष्ठको कविता
जुत्तामा पालिस लगाउने मजदुर - कृष्णभूषण बलको कविता
उसको भागमा जिन्दगी - जसराज किराँतीको कविता
एउटा मजदुर आफ्नो इतिहासको तीन अध्याय लेख्छ - विमल निभाको कविता