गत चैतसम्म निर्मला र धनकला एकआपसमा अन्जान थिए । उनीहरुबीच कुनै चिनजान नै भएको थिएन । तर निर्मला र ललितको प्रेमसम्बन्ध भने एक रफ्तारले चलिरहेको थियो । निर्मलाको फेसबुक आइडीका आधारमा गत साउनसम्म उनीहरुको सम्बन्ध राम्रो देखिन्छ । निर्मलाका हरेक फोटामा ललितले राम्रो रियाक्ट गरेका छन् । निर्मलाले सेयर गरेका फोटामा समेत ललितले राम्रो रेस्पोन्स गर्थे । तर भदौपछि भने उनीहरुको सम्बन्धसँगै सामाजिक सञ्जालको गतिविधिमा समेत परिवर्तन आएको देखिन्छन् ।
पछिल्ला तीन महिनायता धनकला र ललित एकआपसमा नजिक भएके कारण नै उनीहरुको सम्बन्धमा दरार भएको कुरा निर्मलाले साथीलाई सुनाएकी थिइन् । ललितको फेसबुकमा धनकलाले म्यासेज गरेकै कारण उनीहरुले एक आपसलाई चिनेको निर्मलाले यसअघि नै बताइसकेकी छिन् ।
ललित र निर्मलाको सम्बन्धमा दरार आएपछि धनकलाको ललितसँग सम्बन्ध प्रगाढ भएको धनकलाकी साथी ढाँट थरकी युवती पनि बताउँछिन् ।
गत जेठमा धनकला र ललितबीच प्रेमसम्बन्ध मौलाएको र उनीहरुले एकअर्कोलाई भेटेको ढाँट थरकी युवतीको भनाइ छ ।
धनकला–निर्मला सम्बन्ध
धनकलाले ललितको फोटोमा लभको इमोजी राखेर भिडियो बनाएर म्यासेन्टरमा राखेपछि निर्मलाको ध्यान धनकलातर्फ केन्द्रित भएको थियो । त्यसअघि गत साउनसम्म दुई जनाले एकअर्कोलाई चिनेका थिएनन् । ललितसँग सम्बन्धमा दरार आए पनि निर्मलाले उनको फेसबुक आइडी भने चलाउने गर्थिन् । ललितको आइटीबाट उक्त भिडियो देखेपछि निर्मलाले धनकलालाई साथी बनाएकी थिइन् ।
साथी बनेपछि धनकलालाई आफैँले बोलाउन सुरु गरेकी निर्मलाले ललितसँगको सम्बन्धका बारेमा सोधेकी थिइन् । धनकलाले आफू र ललित प्रेममा भएको कुरा बताएपछि नै उनीहरुबीच झगडा सुरु भएको थियो ।
कता गइन् निर्मला
निर्मलाले आफ्नी दिदी कृष्णालाई मध्याह्न १२ बजे ललित र धनकलालाई भेट्न जाने बताएकी थिइन् । तर उनले दिदीलाई भने आफूलाई पेट दुखेको र अफिस आउन नसक्ने भनेर फोन गर्न लगाएकी थिइन् । दिदी कृष्णाले पनि उनलाई ३ सय रुपैयाँ दिएर अस्पताल जाऊ है भनेर गएकी थिइन् ।
तर, यही बीचमा निर्मलाले भने आफ्नो साथीलाई फोन गरेर आफू विवाह गर्न जान लागेको बताएकी थिइन् । यता निर्मलासँग भेट्न भनेर हिँडेकी धनकलाले दिउँसो आफू एक जना दाइसँग सुख्खडमा रहेको र आमालाई फोन गरेर आफ्नोमा रहेको बताउन लगाएको कुरा धनकलाकी साथी ढाँट थरकी युवती बताउँछिन् । उक्त दिन धनकलाले एक्कासि राति १० बजे फोन गरेर आउन खाजेकी थिइन् । तर, राति भएका कारण उनी आइनन्। त्यसपछि उनी कता गइन्, केही जानकारी नभएको धनकलाकी साथीको भनाइ छ ।
शंकाको सुई ललिततिर घुमेपछि निर्मला हराएको दिन दिउँसो भाउजूसँग घर पोत्नका लागि जंगलमा माटो लिन भएको कुरा ललितका बुबा आमाले निर्मलाको परिवारसमक्ष भनेका छन् । ललितकी भाउजूले पनि उक्त दिन देवर दिनभर घरमै भएको र साँझ आफूसँग माटो दिन गएको बताएकी छिन् । ललित र धनकलाई भेटेर झगडा मिलाउन हिँडेकी निर्मला भने उक्त दिनबाट बेपत्ता भएकी थिइन् । निर्मला हराएपछि खोज्ने क्रममा उनी झन्डिएको अवस्थामा फेला परेकी थिइन् ।
ललित र धनकला नै शंकाको घेरामा
निर्मला हराएको दिन धनकला र ललितले एक अर्कालाई नभेटेर छुट्टाछुट्टै स्थानमा भएको बताए पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भने निर्मला झुन्डिएको ठाउँ नजिकै उनीहरु दुवै जनाको मोबाइलको लोकेसन देखिएको निर्मलाका दाइ विशाल बताउँछन् ।
अन्तिम पटक ललितले नै आफूहरुबीच भएको झगडा समाधान गर्न फोन गरेर बोलाएका कारण उनीहरुले झुटो कुरा बताएको र घटनालाई तोडमोड गर्न खाजेको विशालको भनाइ छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले नै उक्त दिनकाे घटना पत्ता लगाउनेछ ।