काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठानले स्थगित राष्ट्रिय कविता महोत्सव आगामी मंसिरको चौथो साता भौतिक दूरी कायम गरी सम्पन्न गर्ने निर्णय गरेको छ । उक्त महोत्सव प्रज्ञा भवन, कमलादीमा आयोजना हुनेछ । प्रतिष्ठानले स्थापना दिवसका अवसरमा हरेक वर्ष असार ९ गते आयोजना गर्दै आएको महोत्सव बन्दाबन्दीका कारण स्थगन भएको थियो ।
प्रतिष्ठानको यही असोज १८ गते सम्पन्न प्राज्ञ परिषद्को बैठकले महोत्सवको पुरस्कार राशिसमेत वृद्धि गरी प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ४० हजार र तृतीय हुने तीन जनालाई जनही ३० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले जानकारी दिए । यसअघि नगद पुरस्कारको राशि क्रमशः रु ३०, २५ र २० हजार थियो ।