नेपाल प्रज्ञा–प्रतिष्ठानको दर्शनशास्त्रसम्बन्धी एक मात्र वार्षिक प्रकाशन ‘दर्शनावली’को सातौँ अंक प्रकाशन भएको छ । दर्शनशास्त्र विभागका प्रमुख प्रा. जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ र विभागका पूर्वप्रमुख विष्णु प्रभातको सम्पादनमा वार्षिक रूपमा प्रकाशन हुँदै आएको ‘दर्शनावली’ दर्शनशास्त्रको अध्ययन र अनुसन्धान गर्न चाहने पाठकका लागि महत्त्वपूर्ण र उपयोगी मानिएको छ ।
डा. वेदराम भुसाल, प्रा. ‘प्रेक्षित’, प्राडा. गोपीन्द्र पौडेल, प्रभात, प्राडा. देवीप्रसाद सुवेदी, नारायणप्रसाद आचार्य, रामराज रेग्मी, समीर सिंह, डा. नारायण चालिसे, डा. भक्त राई, शीतल गिरी, अभय शर्मा, डा. रामदेव पण्डित र नेत्र आचार्यका विभिन्न दर्शनसँग सम्बन्धित विविध अनुसन्धानमूलक लेख यसमा समेटिएका छन् । उक्त ‘दर्शनावली’ कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको बिक्री कक्ष र मकालु प्रकाशन गृहको आधिकारिक वितरकमार्फत मुलुकका सातै प्रदेशका प्रमुख पुस्तक पसलमा उपलब्ध हुने बताइएको छ ।