‘हेलम्बु गाउँपालिकाको अभियान, नमूना गाउँपालिका निमार्ण’को नारा तय गर्दै अगाडि बढेको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका नमूना काम गर्दै अगाडि बढिरहेको छ। शिक्षा, स्वास्थ्य, र रोजगारी सिर्जना गर्न गाउँपालिकाले हरबखत यही क्षेत्रमा लगानी गर्दै आइरहेको छ।
बर्थिङ सेन्टरको विकास गर्दै हेलम्बुमा सुत्केरी हुनेलाई बर्थिङ सेन्टरसम्म पुग्ने वातावरण मिलाउनाका साथै किसानका लागि विभिन्न अनुदानका कार्यक्रम पनि ल्याइरहेको छ। अहिलेसम्म गाउँपालिकामा के के काम सम्पन्न भए? विकास निर्माणको अवस्था कस्तो छ र हेलम्बुलाई समृद्ध बनाउन केके काम भइरहेका छन् भन्ने विषयमा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पासँग रासस प्रतिनिधि देवराज सुवेदीले लिएको अन्तर्वार्ताको सम्पादित अंश:
कसरी अगाडि बढ्दै छ गाउँपालिकाको विकासनिर्माणका काम?
–चाडपर्व भर्खरै सकियो। गाउँपालिकाको नियमित काम त भइरहेकै छन्। टेण्डरको काम पनि सकेर ठेकेदारहरुले फिल्डमा आएर काम गर्न थालिसकेका छन्। चार वटा झोलुङ्गे पुल बनाउने काम पनि शुरु भइरहेको छ। अन्य नियमित कामहरु त अगाडि बढिरहेका छन्।
विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसले गर्दा विकासनिर्माणका काममा कस्तो असर पर्याे?
–कोरोनाले हेलम्बु गाउँपालिकामा विकासनिर्माणको काममा खासै असर गरेन। चैतदेखि कोरोना शुरु भएको हो र हाम्रा प्रायः कामहरु चैतमा नै सकिसकेको थियो। त्यसैले धेरथोर असर त पुर्यायो नै तर खासै क्षति भने पुर्याएन। प्रधानमन्त्री स्वरोजगार कार्यक्रम केही पछि आएको थियो, अरु गाउँपालिका, नगरपालिकाहरुले राहत वितरण गरे तर हामीले चाहिँ जसलाई खान पुग्दैन थियो, जो राहत दिनुपर्ने अवस्थाका छन्, तिनीहरुलाई त्यही स्वरोजगार कार्यक्रममा लगाएर ज्यालाबाट आउने रकमले खाद्यान्न किनेर खाऊ भन्यौँ र अगाडि बढ्यौँ। हामीले कसैलाई पनि राहत भनेर छुट्टै बजेट खर्च गरेनौँ।
चुनावका बेला बोलेका कुरा कति पूरा भए, कति बाँकी छन् रु गरेरै छाड्छु भनेर गरिएका प्रतिबद्धता कति पूरा भए?
–चुनावका बेला बोलेका र हेलम्बुमा आवश्यकता रहेको कुनै पनि काम हामीले गर्न बाँकी राखेका छैनौँ। हामीले गरेका कामप्रति जनता खुशी छन् कि छैनन् भनी मिडियाबाट आउनुपर्ने हो, आएको छैन। मैले हेलम्बुलाई भ्रष्टाचारशून्य र नमूना गाउँपालिका बनाउँछु भनेर हिजो प्रतिबद्धता गरेको थिएँ र त्यहीअनुरुप काम भइरहेको छ। गाउँपालिकाको भूगोल धेरै छ, विकासका काम गर्न एकदम अप्ठ्यारो स्थिति छ र पनि हामीले १२ महिना निरन्तर गाडी चल्न सकोस् भनेर मोटरबाटो व्यवस्थित गर्ने काम गरिरहेका छाैँ। कामहरु तीव्र गतिमा अगाडि बढेका छन्। पाँच वर्षभित्र हामी सबै सडकमा वर्षभरि नै गाडी चल्ने बनाउन सक्छौँ।
जनताको घरदैलामा कत्तिको पुग्ने गर्नुभएको छ?
–हामी पुगिरहेकै छौँ र पुग्छौँ पनि। कोभिडका बेला हामी गाउँगाउँमा जनताको अवस्था बुझ्न गयौँ। त्यस बेला कोभिडभन्दा पनि गाउँगाउँका मानिस जो लामो समयदेखि औषधि खाइरहेका छन्, उनीहरुको बिचल्ली देखेँ। कतिपयको त औषधि सकिएको पनि पाइयो र बाहिर हिँड्न डरले खाइरहेको औषधि पनि नखाई बसेको पाएपछि अब पनि हामीले दीर्घरोगीहरुको हेरचाह गरेनाैँ र स्वास्थ्यको ख्याल गरेनौँ भने गाउँका मानिसहरु कोरोनाले भन्दा पनि अन्य रोगले मर्लान् भन्ने चिन्ता लाग्यो।
तुरुन्तै हामीले डाक्टर लिएर घरघरमा पुगेर औषधि वितरण गर्यौँ। त्यसले गर्दा हेलम्बुका नागरिकलाई धेरै सहयोग मिल्यो। मैले चढ्ने गाडीलाई एम्बुलेन्स जस्तै बनाएर घर घरमा पुग्यौँ र जुनसुकै रोगका बिरामीलाई निःशुल्क औषधि वितरण गर्दै सम्पूर्ण नागरिकको स्वास्थ्य परीक्षण गर्दै हिँड्यौँ। अहिले सबै ठीक छ र बेलाबेलामा म नागरिकको घरदैलोमा पुगेकै हुन्छु। सरकार भनेको नागरिकलाई अप्ठ्यारो परेको बेला सहयोग गर्न बनेको हो। हाम्रा नागरिकलाई हामीले जतिबेला अप्ठयारो पर्छ, त्यति बेला जसरी पनि सहयोग गर्नैपर्छ र गर्छौँ पनि।
हेलम्बु पर्यटकीय क्षेत्र हो तर प्रचारप्रसारको कमीले गर्दा ओझेलमा परेको छ, यसलाई प्रबद्र्धन गर्न चाहिँ के गर्दै हुनुहुन्छ?
–पहिला जहाँ जहाँ ट्रेकिङ रुटहरु थिए, ती ठाउँमा अहिले मोटरबाटो पुग्यो। त्यसले कतिपय होटल व्यवसायी साथीहरुलाई निकै असर पर्याे। त्यसैगरी भूकम्पले पनि हेलम्बुमा भएका पुरातात्विक संरचना सबै ध्वस्त भयो र अहिलेसम्म पनि त्यसको पुननिर्माण हुन सकेको छैन। त्यसले गर्दा पनि पर्यटकीय क्षेत्रलाई असर पुर्याएको छ। अझै पनि हेलम्बुको गञ्जला पासबाट लाङ्टाङ राष्ट्रिय निकुञ्ज, त्यस्तै हेलम्बु सेमिसिदाङ हुँदै लाङ्टाङ जोड्ने बाटो बनाउने काम भइरहेको छ। यस वर्षै यो बाटो जोड्नका लागि काम अगाडि रहेको छ। हामीले हेलम्बु ग्रेटट्रेलको निर्माण गरिरहेकै छौँ। त्यससँगसँगै बञ्जिजम्प, प्याराग्लाइडिङलगायतको विकासका लागि पनि संरचना बनाउनका लागि काम गरिरहेका छौँ। त्यस्तै किबी खेती अगाडि बढाएका छौँ। हेलम्बुको स्याउ फर्काउन लागिरहेका छाैँ। काठमाडौं भ्यालीलगायत अन्य स्थानहरुबाट हेलम्बुमा घुम्न आऊँआऊँ लाग्ने खालको पर्यटकीय गन्तव्य बनाउनका लागि हामी काम गरिरहेका छौँ।
स्थानीयस्तरमा नै रोजगारीको सिर्जना गर्नका लागि के गर्दै हुनुहुन्छ र?
–हेलम्बुमा निर्माण भइरहेको ग्रेटट्रेलमा हामीले स्थानीयवासीलाई नै काम लगाइरहेका छौँ र त्यहाँ पनि धेरै जना हेलम्बुका नागरिकले काम पाइरहेका छन्। यसै गरी हेलम्बुका नागरिकहरु स्याउ, किबी र व्यावसायिक रुपमा आलुखेती गर्न लागिरहेका छन्। कृषिलाई पनि उत्पादन र आम्दानीमा जोड्न हेलम्बु गाउँपालिका लागिरहेको छ। पशुपालन गर्न चाहने कृषकहरुलाई पनि अनुदानको व्यवस्था गरेर हामीले स्वरोजगारको सिर्जना गरिरहेका छौँ। प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा पनि कतिपय नागरिकहरु सहभागी भएका छन् र त्यसले गर्दा पनि हेलम्बुमा रोजगारी सिर्जना भइरहेको छ भन्न सकिन्छ।
मेलम्ची खानेपानी आयोजनाको मुहान नै हेलम्बु गाउँपालिकामा छ, सो खानेपानी आयोजनाबाट के अपेक्षा राख्नुभएको छ?
–यो चाहिँ एकदम निराशलाग्दो कुरा छ। सरकारलाई जसरी पनि पानी काठमाडाैं लैजान पाए हुने तर हेलम्बुबासी र खानेपानीबाट प्रभावितहरुका लागि के गर्ने भन्ने कसैलाई चासो छैन। पानी काठमाडौं लैजान सकियो भने बहादुर हुन्छौँ भन्ने मात्र छ। सरकारले यहाँका जनताको समस्याको पनि चासो राखोस्, समस्या समाधान गर्नमा सहयोग गरोस् भन्ने हाम्रो अपेक्षा छ। मुहानभन्दा मुनितिरको भागमा रहेका ट्राउट माछा फर्महरु छन्। ठल्ठुुला फाँटहरुमा कृषिका लागि सिंचाइका कामहरु भएका छन्।
त्यसको समस्या समाधानका लागि के गर्ने हो ? जति पनि आयोजनाबाट प्रभावित छन् उनीहरुका लागि के गर्ने भनेर छलफल गर्नका लागि हामीले बारम्बार आयोजनाका मानिसहरुलाई बोलाउँछौँ तर कहिले पनि उनीहरु हामीसँग छलफल गर्न मानिरहेका छैनन्। पानी पठाइसकेपछि लेभी निर्धारणका कुराहरु छन्, विकासनिर्माणमा सहयोग गर्ने कुराहरु छन्, त्यो त पानी लानुभन्दा पहिला नै छलफल गर्नुपर्याे नि! तर उनीहरु त्यसो गर्नुहुन्न, आफ्नै सुरमा काम गर्नुहुन्छ, यहाँको कुनै चासो राख्नुभएको छैन। उनीहरुको यस्तो ताल देख्दा चाहिँ दुःख लाख्छ।
हेलम्बु अब कस्तो बन्छ ? कस्तो बनाउने सोच बनाउनुभएको छ?
–अहिलेसम्म हेलम्बु गाउँपालिकाले निर्माण गर्नुपर्ने संरचनाहरु तीव्र गतिमा अगाडि बढाइसक्यो। अब शिक्षामा व्यापक सुधार गर्दै अगाडि बढ्नुपर्ने देखिन्छ। हाम्रो मोडल विद्यालय पनि अन्तिम चरणमा पुगिसक्यो। शिक्षालाई व्यापक सुधार गर्दै अगाडि बढ्नुपर्छ। बाँकी एउटा मात्र काम भनेको वृद्धवृद्धाहरुका लागि निशुल्क औषधि वितरण गरे जस्तै अब हेलम्बुका सबै नागरिकको स्वास्थ्यको जिम्मा गाउँपालिकाले लिने हो। हेलम्बुमा लगभग २० हजार जनसङ्ख्या छ।
अहिले हाम्रो कार्यक्रममा १५ हजार मात्र यस वर्ष सहभागी भएका छन्। अब एक व्यक्ति बराबर रु पाँच हजार मात्र लिइयो भने पनि पाँच हजार नागरिकको पैसाले हेलम्बुका प्रत्येक नागरिकको स्वास्थ्य उपचार निःशुल्क गर्न सकिन्छ। कतिपय नागरिकहरु आफ्नो स्वास्थ्य उपचार गर्न नसकेरै अकालमा मर्नुपरेको अवस्थालाई ध्यानमा राखी गाउँपालिकाले शिक्षा र स्वास्थ्यमा जिम्मा लिने हो भने नागरिकलाई कुनै पनि चिन्ता हुने थिएन।
एक जना बराबर रु दुई हजार तीन हजार मात्र लिने हो भने उठेको पैसा जति नै गाउँपालिकाले पनि हाल्ने र उपचार गरेबापतको कुनै पनि शुल्क नलिने गरी कार्यक्रम बनाइरहेका छौँ। यहाँका जनताको प्रतिव्यक्ति आय सबैभन्दा बढी कसरी बनाउन सकिन्छ र कसरी नमूना गाउँपालिका बनाउन सकिन्छ भन्नेतर्फ अहिले हामी लागिरहेका छौँ। यी सबै कुरा देख्न त तत्कालै नसकिएला तर हामी एउटा लक्ष्य बनाएर अगाडि बढिसकेका छौँ, जसरी भए पनि पूरा गरेरै छाड्छौँ।