विवाह गर्ने प्रलोभन देखाएर लामो समयसम्म प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईको यौन शोषणमा परेकी नेकपा एमालेकी युवा नेतृ बालिका खड्कामाथि अर्को धम्की आएको छ। आफूविरुद्ध पार्टीको नेतृत्वबाटै गम्भीर षड्यन्त्र भएको खुलासा गरेकी खड्कालाई शेरधन पत्नी जाङ्मु इन शेर्पाले पनि धम्क्याएकी हुन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर शेर्पाले एमाले युवा नेतृ खड्कासँगै मिडियालाई पनि चेतावनी दिएकी छिन्। आफ्नो श्रीमानको चरित्र हत्या भएको उनका दावी छ। शेर्पाले बारम्बार यस्ता घटना दोहोरिनु सुनियोजित भएकाले अब चुप लागेर बस्न नहुने बताएकी छिन्।
शेर्पाले आफ्नो श्रीमान् निर्दोष भएको हुँदा अनर्गल प्रचारविरुद्ध भ्रमित नहुन आग्रह गरेकी छिन्। शेर्पाले आफ्ना श्रीमान् दोषी रहेको भए आफै कारबाहीमा उत्रिने बताएकी छिन्।
जाङ्मुको स्टाटसः
सामाजिक सञ्जाल र युट्यूबहरूमा भाइरल बनाइएको घटना र विषयले मेरो गम्भीर ध्यानाकर्षण भएको छ। मेरो श्रीमान्विरुद्व विगत लामो समयदेखि उहाँको चरित्र हत्या मात्र होइन, उहाँको व्यक्तिगत र राजनीतिक जीवन समाप्त गर्ने सुनियोजित षडयन्त्र हुँदै आएको र अनेकन चरित्र हत्याका हर्कत र आक्रमणका घटनाहरू हुँदै आएको कुरामा म राम्रो जानकार छु। म पनि एउटा सचेत महिला हुँ, न्याय अन्याय सबै कुरा बुझ्छु। त्यतिमात्र होइन, अन्यायको विरुद्व बोल्ने र लड्ने सामाजिक सेवाकर्मी पनि हुँ। तर, बिना प्रमाण, बिना गल्ती र दोष बिना एउटा महिलाको नाममा यो हदसम्मका महिलाहरू पनि हुँदा रहेछन् भन्ने आममहिलालाई कलंकित पार्ने जुन हर्कत एकजना महिलाले गर्दै आएकी छिन्, यो ज्यादै नै दुःखद छ। मेरो श्रीमान्ले पीडित बनाएको एउटा सानो मात्रै प्रमाण भए म नै मेरो श्रीमान्लाई कारबाहीको कठघरामा उभ्याउन तयार थिएँ, तयार छु। मलाई पनि भ्रम थियो मेरो श्रीमान्को गल्ति छैन भन्दा भन्दै बा कतै चुक्नु भएको पो छ कि भनेर। तर पहिला र म उहाँकी जीवनसाथी भइसकेपछि वास्तविक तथ्यहरू बुझ्दा सय होइन हजार लाख प्रतिशत उहाँ निर्दाेष हुनुहुँदो रहेछ भन्ने कुरा म आफैले सबै तथ्यहरूको खोजी गर्दा पत्ता लगाएको छु। मेरो श्रीमान्ले सायद एकपटक सार्वजानिक कार्यक्रममा बोल्नु भएको छ। स्वयं त्यही महिलाले उहाँ निर्दाेष हुनुहुन्छ, मैले अरुको उक्साहटमा उहाँलाई आरोप लगाएको भनेर न्यायालयमा, पार्टी कार्यालय र मिडियाहरूमा स्वयंको हस्ताक्षरमा लिखतहरू सार्वजानिक गरिसकेकी छिन्। तर, फेरि आज त्यही मान्छेद्वारा त्यस्तो हर्कत, यसलाई के भन्ने? गल्ती नगर्ने, कही कतै नचुक्ने, तर सुनियोजित, प्रायोजित ढंगबाट अरु कुनै केही गल्ती कमजोरी नपाएर, आफ्नो राजनितीक सफलता र उचाईबाट ईर्श्या डाह गरेर खुट्टा तान्ने तल्लो दर्जाका फोहोरी मान्छेहरूसँग के प्रतिवाद गर्ने भनेर चुप लागेर मेरो श्रीमान् बस्नु भएको भए पनि मलाई लाग्छ, अब चुप लागेर बस्नु हुँदैन, कानुनी, प्रशासनिक लगायतका बाटाहरूको अवलम्बन गर्नुपर्छ ! अन्तमा यसप्रकार मेरो श्रीमान्को चरित्र हत्या गर्न सुनियोजित रुपमा भइरहेका हर्कत र त्यसलाई सुनियोजित रुपमा युट्यूब लगायत सामाजिक सञ्जालहरूमा प्रचार भइरहेका कुराहरूबाट भ्रमित एवं दुखित नहुन म मेरो परिवार आफन्त, नातागोता साथीभाई, शुभचिन्तक सबैमा हार्दिक आग्रह गर्न चाहन्छु। यस्ता सुनियोजित र षड्यन्त्रमूलक हर्कतसहितका प्रचार प्रयासहरूले म र मेरो श्रीमान् र परिवारका बीच कुनै पनि असर नपर्ने कुरा पनि सबैलाई स्पष्ट पार्न चाहन्छु। यी केही तथ्यहरू पनि हेरि दिनुहोला। धन्यवाद!
के हो काण्ड?
नेकपा एमालेको कार्यालय थापाथलीबाट प्रहरीले पक्राउ गरेपछि एमाले युवा नेतृ बालिका खड्काले आफूविरुद्ध गम्भीर षड्यन्त्र भएको खुलासा गरेकी छिन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेता पार्टी कार्यालय निरीक्षणमा गएको बेला गाली गर्न थालेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।
मुख छाडेको आरोपमा खड्कालाई बिहीबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले बताएका छन्।
खड्कालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। सिंहदरबार वृत्तमा खड्कालाई भेट्न गएका एमालेका एक नेतालाई उनले आफू मारिन सक्ने बताएकी हुन्।
‘शेरधन राईले पहिले यौन शोषण गर्यो, त्यसले पुगेन, अहिले ज्यानै लिने षड्यन्त्र गरेको रहेछ, शेरधनले मेरो हत्या गर्ने षड्यन्त्र गरेको रहेछ, म मारिन सक्छु, तर न्याय होस्,’ बालिकाको भनाई उद्धृत गर्दै ती नेताले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नै बालिकाले संगीन प्रश्न उठाएकी छिन्। आफूले पटक–पटक कारबाहीको माग गर्दा पनि ओलीले वास्ता नगरेको बालिकाको भनाई छ।
खड्काले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफूलाई बिचल्ली बनाएको आरोप लगाउँदै आएकी छिन्। पार्टी कार्यालय निरीक्षणमा मुख्यमन्त्री राई पनि सहभागी थिए।
नेतृ खड्काले राईमाथि कारबाही हुनुपर्ने माग दोहोर्याएकी छिन्। ‘ममाथि भएको अन्यायको हिसाव पार्टीले खोज्नुपर्छ,’ उनले ती नेतासँग भनिन्।