फ्रेन्च क्लब पिएसजीका स्टार फरवार्ड नेयमार जुनियरले आफ्नो टोलीले म्यानचेस्टर सिटीविरुद्धको एउटा ब्याटल हारेको तर महासंग्राम जारी रहेको बताएका छन्। च्याम्पियन्स लिगको सेमिफाइनल खेलको पहिलो लेगमा घरेलु मैदानमा सिटीसँग २–१ गोलले पराजित भए पनि नेयमारले आफ्नो टोलीमाथि विश्वास व्यक्त गरेका हुन्।
‘हामीले ब्याटल हारेका हौं, तर युद्ध जारी छ। म मेरो टोलीलाई विश्वास गर्छु,’ नेयमराले ट्विटरमा लेखेका छन्। ‘मलाई विश्वास म हामी जस्तो थियौं त्योभन्दा उत्कृष्ट हुन सक्नेछौं, १ प्रतिशत अवसर ९९ प्रतिशत विश्वास,’ उनले लेखेका छन्।
नेयमारले च्याम्पियन्स लिगको पछिल्ला ६ नकआउट खेलहरुमा गोल गर्न सकेका छैनन्। पिएसजीले ४ युरोपिएन खेलहरुमा सिटीलाई हराउन सकेको छैन। त्यस्तै, पिएसजीका मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोले सिटीका गोलहरु आफ्नालागि २ दुर्घटना भएको बताएका छन्। उनले पिएसजीसँग गोल गर्न र खेल जित्नका लागि समय रहेको भन्दै टोलीको हौसला पनि बढाएका छन्।