‘धेरै जोगी, मठको सत्यानाश’ – यो उखान नेपाली राजनितीक दलहरुको अवस्थासँग ठ्याक्कै मेल खान्छ। अझ भन्नुपर्दा नेकपा र जसपाकै लागि बनेको उखान हो यो।
२०७५ बैसाख ३ गते पार्टी एकता घोषणा गरेका तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र ३ वर्ष पनि सगैं बस्न सकेनन्। २०७७ फागुन २३ गते सर्वोच्चले गरेको फैसलाले यी दुई दलविचको एकतालाई अमान्य ठहर गर्यो तर त्यसअघि नै यी दुईविच फाटो आइसकेको थियो।
सत्ता हत्याउने र जोगाउने खेल अनि पार्टीभित्रको गुटबन्दीले पार्टी एकतालाई भित्तामा पुर्यायो। वास्तवमा भन्नुपर्दा, यी दुई दल भावनात्मक रुपमा कहिल्यै एक हुनै सकेका थिएनन्। बाहिर ‘कम्यूनिष्ट आन्दोलनलाई नयाँ उचाई दिनको लागि गरिएको एकता’ भने पनि त्यो बिशुद्ध चुनावी गठबन्धन थियो। पार्टी एकता भन्ने शव्द त केवल जनताको आखाँमा छारो हाल्नका निमित्त प्रयोग गरिएको थियो।
चुनावी मैदानमा एक्लै उत्रिए जितीदैँन भन्ने माओवादी केन्द्रको ठम्याई अनि विविध कारण घट्दै गएको लोकप्रियताका कारण सरकार बनाउन पुग्ने सिट आउदैन् भन्ने नेकपा एमालेको बुझाईको धरातलमा भएको चुनावी गठबन्धनलाई एकतामा बदल्न दुबै पार्टीका दोश्रो तहका नेताले प्रयास नगरेका भने होइनन्।
तर, सत्ता र शक्तिको स्वाद चाखिसकेका शिर्षस्थहरु पार्टी अध्यक्ष र प्रधानमन्त्रीको कुर्सीभन्दा माथि उठ्नै सकेनन्। सत्ता र शक्ति आर्जनको खेल यतिविघ्न घिनलाग्दो तरिकाले एकअर्कालाई नङ्ग्याउदै खेले की यस्तो महामारीको बेलामा जनताले के चाहेका छन् भन्ने कुरा बुझ्ने त के सोच्ने फुर्सदसम्म छैन।
जे होस, प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली अनि प्रधानमन्त्री कुर्सीको न्यानो महशुस गरिसकेका पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल र झलनाथ खनालको आ–आफ्नै स्वार्थका कारण नेकपाको अस्तित्व समाप्त भएसँगै ३ वर्ष लामो एकताको ढोङ्ग पनि सकियो। त्यसपछी मञ्चन भइरहेका नयाँ नाटकहरु त छदैँ छन्।
कुरा जसपाको
‘हडबडी के विवाह कनपटी पर सेनुर’ – जनता समाजवादी पार्टीका प्राय सबैजसो नेता मधेश आन्दोलनबाटै उदाएका भएर भोजपुरी भाषाको यो उखान उहाँहरुलाई सर्मपित गर्दछु। पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईज्यूले दोभाषेको सहयोग लिनुहोला।
खास बिषयमा छिरौ। प्रधानमन्त्री ओलीले पार्टी फुटाउन सहज हुने अध्याधेश ल्याएपछि रातारात तत्कालिन राष्ट्रिय जनता पार्टी र संघिय समाजवादी पार्टी एक भए। यसले लगभग फुटिसकेको ससपा र फुटको संघारमा रहेको राजपा त जोगायो तर पार्टी भावनात्मक रुपमा भने एक हुन कहिल्यै सकेन।
पार्टीको मर्यादाक्रमदेखी भुमिकासम्मको बिषयले किचलो भइ नै रह्यो। यद्दपी एक रहनुको विकल्प थिएन मधेशका जनताको समर्थन विस्तारै गुमाउदै रहेको यो पार्टीमा। बाहिर एक देखीएपनि भित्रभित्रै दुई धार रहिरह्यो।
तर, पछिल्लो समय विकसित राजनितीक घटनाक्रमले जसपाको दुई धारलाई खुल्न बाध्य बनाएको छ। फलतः महन्थ ठाकुर–राजेन्द्र महतो समुह अप्रत्यक्ष रुपमा केपी शर्मा ओलीको पक्षमा देखिएका छन् भने उपेन्द्र यादव–बाबुराम भट्टराई समुह पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवालगायतको विपक्षी गठबन्धनसँग नजिक छन्।
सत्ता र शक्ति संघर्षका कारण अहिले जसपाको अवस्था पनि त्यहि छ जुन केहि समयअघि नेकपाको थियो।