नेपाल अहिले नयाँ मन्त्रिमण्डल गठनको प्रकृयामा छ। शुक्रबार (आज) दिउँसो नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गरेसँगै मन्त्रिपरिषद विस्तारको काम शुरु हुनेछ।
बिहिबार राती केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएसँगै सबै केन्द्रिय मन्त्रीहरु पदमुक्त भएका थिए। सबै मन्त्रालयहरु रिक्त रहेको अवस्थामा अब बन्ने मन्त्रीमण्डलमा को–को अटाउलान ? यो सबैको चासोको बिषय बनेको छ।
प्रधानमन्त्री निकट श्रोतले नाम नबताउने शर्तमा केहि सम्भावित मन्त्रीहरुको नाम नेपाली पब्लिकलाई उपलव्ध गराएको छ। अब मन्त्रीमण्डल विस्तार गर्दा पुराना धेरै मन्त्रीहरु दोहोरीने निश्चित छ भने ओली र माधव कुमार नेपाल पक्षका अन्य सांसदहरुले पनि मौका पाउने देखिन्छ।
नेकपा फुट्दा माओवादी केन्द्र छाडेर ओलीलाई साथ दिएका रामबहादुर थापा बादल, टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र मणी चन्द्र थापाले यसपटक पनि मन्त्रालयमा स्थान पाउने छन्। त्यस्तै ओली खेमाका इश्वर पोख्रेल, विष्णु प्रसाद पौडेल, प्रदिप ज्ञवाली, शिवमाया तुम्बाहाम्फे, जुली कुमारी महतोले पनि मन्त्रालय पाउने लगभग तय नै छ।
माधव समुहका सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट र योगेश भट्टराईले मन्त्रालय पाउने लगभग तय भइसकेको एमाले निकट एक केन्द्रिय नेताले जानकारी दिए। यता केपी ओलीको खास नेता मानिने महेश बस्नेतले पनि महत्वपुर्ण मन्त्रालय पाउने निश्चित भएको ती नेताले जानकारी दिए।
यसैगरी पछिल्लो राजनितीक घटनाक्रमहरुमा विपक्षीलाई परास्त गर्न ओलीलाई अप्रत्यक्ष रुपमा सघाएको जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो समुहको लागि ७ देखी ८ वटा मन्त्रालय खाली राखिने श्रोतले बताएको छ।
‘महन्थजीहरु पनि केहि दिनपछी सरकारमा आउनुहुन्छ,’ श्रोतले भन्यो, ‘उहाँहरुको लागि स्थान खाली राखिनेछ।’