सायद थप परिचय दिइरहनुपर्ने नाम होईन यो। नेपाली राजनीतिका एक आशलाग्दा युवा नेता, औँलामा गन्न सकिनेमध्येका एक जसले निकट भविष्यमा मुलुकको राजनीतिको वागडोर सम्हाल्नुपर्ने हुनसक्छ। सायद यहि भनिन्छ योगेशको बारेमा।
तर, पछिल्ला केहि घटनाक्रमहरुले योगेशप्रति जनताले आशा र भरोसा गर्ने कि नगर्ने भन्ने प्रश्न उठ्न थालेको छ। योगेशका पछिल्ला गतिविधीहरुले उनको चरित्र उदाङ्गो पारिरहेको छ।
योगेश भरोसालायक छैनन् भन्ने त त्यतिबेलै देखिएको थियो, जतिबेला यिनले लत्तो छाडेर गोविन्द केसीको बिरोध गरेका थिए। मन्त्री बन्न पाउँछु की भन्ने लालचमा लिप्त भएर उनी एउटा सत्याग्रहीको बिरोधमा यसरी खटिए की उनले आफ्नो चरित्र स्खलित भएको पत्तो नै पाएनन्।
योगेशको चरित्र स्खलन अझै रोकीएको छैन्। नीरन्तर स्खलीत भइरहेका छन् उनी जनतासामु। न स्पष्ट अडान, न स्पष्ट धार; सधैँ ढुलमुले र स्वार्थी चरित्र। तत्कालिन नेकपाको बिवादको शुरुआततिर केपी ओलीले भनेजस्तो ‘बैगुनी केटो’ मात्रमा सिमित हुदैछन् योगेश।
एउटा राष्ट्रिय टेलिभिजनमा पत्रकारले ‘पिँध नभएको लोटा’, ‘दोगला’ जस्ता शब्दहरुले सम्बोधन गर्दा समेत एकछिन् मुर्मुरिन र ङिच्च दाँत देखाएर हास्न बाहेक केहि बोल्न सकेनन् योगेश। यहाँबाट पनि प्रष्ट हुन्छ उनी आफ्नै नजरमा समेत कति खसी सकेका रहेछन् भन्ने।
हुन त योगेशबाट धेरै अपेक्षा राखेका थिए नेपाली जनताले। तर, पर्यटनमन्त्रीको रुपमा उनले देखाएको ‘फ्लप शो’ ले गर्दा उनको क्षमता पनि देखे पनि जनताले। भषणवाजिमा तिक्ष्ण योगेश काम गर्ने मामिलामा चाँहि निकै भुत्ते सावित भए।
नेकपा एमालेमा जारी बिवादमा पनि योगेशको भुमिका शंकास्पद नै देखिन्छ। हरेक ठाँउमा पार्टी एकताको दुहाई दिने योगेशको शैली कुनै न कुनै निजी स्वार्थबाट अभिप्रेरित देखिन्छ। ओली क्याबिनेटमा आफ्ना विश्वासपात्र गणेश पहाडीलाई मन्त्री बनाएर उनले यसको पुष्टि पनि गरिदिए।
आवेशमा मन्त्री पदबाट राजिनामा दिएर माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको पछि लागेका योगेशले केहि समय पार्टी अध्यक्ष केपी शर्मा ओलीको खुब खोइरो खने। तर, अहिले उनी रक्षात्मक बनेका छन्, पार्टी एकताको लागि भन्दै।
तर, योगेश रक्षात्मक बन्नुको कारण अर्कै छ। उनले ताप्लेजुङबाट चुनाव जितेका हुन्। र त्यो क्षेत्रमा प्रधानमन्त्री ओलीको पकड राम्रो छ। यसपटकको चुनावमा पनि योगेशको लागि भोट माग्न ओली आफैँ पुगेका थिए।
त्यसैले ओलीको बिरुद्धमा लागेर उनी आफ्नो राजनीतिक करियर दाउमा राख्न चाहँदैनन्। राजनीतिमा टिकीरहने स्वार्थले पनि उनलाई बारम्बार माधव गुटबाट ‘ब्याक’ हट्न ‘पुश’ गरिरहेको छ। विडम्बना तत्काल ब्याक हटेर ओलीको पक्षमा लाग्न उनलाई आफैँले विगतमा ओलीविरुद्ध दिएका अभिव्यक्तीहरुले रोकीरहेको छ। त्यसैले ‘सेफसाईड’मा बसेर खेल खेल्दैछन् योगेश।
योगेशको वर्तमान मात्र होइन् अतित पनि धमिलो नै छ। उनले २०५४ सालमा पनि वामदेव गौतमलाई नेकपा एमाले फुटाउन सघाएका थिए। योगेशको यस्तै अस्थिर चरित्रका कारण अहिले उनीप्रति ओली र नेपाल पक्ष आश्वस्त हुन सकिरहेका छैनन्।
केपी ओलीले भनेजस्तो, ‘यो बैगुनी केटो’ले कुन दिन प्वाक्क लात्ताले हानेर जाने हो भन्ने दुबै पक्ष सधै सशंकित नै छन्।