प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्नेछ ।
बैठकमा समसायमिक राजनीतिक पििस्थति र पार्टी विवाद समाधान कार्यदलले तयार पारेको सहमतिको प्रस्तावबारे छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष भने बैठक नजाने भएको छ ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाले सांसदहरुलाई पार्टी अनुशासन उल्लंघनको कारवाही बारे छलफल हुने उनले बताए । एमाले स्थायी कमिटीको शनिबार बसेको बैठकले पार्टीको निर्देशन विपरित गए पार्टीको सदस्य नरहने चेतावनी दिएको थियो । प्रधानमन्त्री देउवालाई एमालेका २२ सांसदले मत दिएका थिए ।
त्यस्तै, आजको बैठकमा पार्टीको विधान महाधिवेशनको विषयमा पनि छलफल हुने पार्टी कार्यालय सचिव तामाङले बताए । उनकाअनुसार यही साउन २५ मा हुन गइरहेको विधान महाधिवेशनको तयारीका विषयमा छलफल हुनेछ ।