जसपा सांसद रेशम चौधरी पार्टी विवादमा तटस्थ बसेका छन् ।
टिकापुर घटनाको मुख्य योजनाकारको आरोपमा डिल्ली बजारस्थित कारागारमा रहेका चौधरी जसपा आधिकारिकता विवाद निरुपणका लागि एकता भएकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई ‘हेड काउन्ट’ मा बोलाएपछि चौधरी आयोग पुगेका थिए ।
त्यहाँ पुगेर उनी अध्यक्षद्वय महन्त ठाकुर र उपेन्द्र यादव दुबै पक्षमा लागेनन् । उनले कुनै पक्षमा सनाखत नगरि कारागार फर्किए ।
आयोगबाट फर्किने क्रममा पत्रकारसँग कुरा गर्दै उनले आफू पार्टीको इमान्दार र बफादार कार्यकर्ता भएकोले पक्ष विपक्षमा नलागेको स्पष्ट पारे । उनले भने, ‘जेलबाट आएर मलाई पार्टी विवादको पक्ष विपक्षमा सनाखत गर्न मेरो नैतिकताले दिएन ।
आयोगबाट फर्किने क्रममा चौधरीले भने, ‘मेरो पक्ष जसपा हो, विपक्ष पनि जसपा हो । जसले जिते/हारे पनि मिल्नुपर्छ ।’
उनलाई अध्यक्ष ठाकुर र यादव दुबै पक्षका नेताहरूले स्वागत गरेका थिए
जसपा अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी सदस्यले सनाखत गरेका छन् । यो संख्या दुई तिहाई हो ।
त्यस्तै, अध्यक्ष ठाकुरको पक्षमा १६ जना कार्यकारिणी सदस्यले सनाखत गरेका छन् । जसपामा ५१ सदस्यी कार्यकारिणी सदस्य रहेका छन् ।
योसँगै अध्यक्ष यादव पक्षले जसपाको आधिकारिकता पाउने निश्चित भएको छ । यसबारेमा आयोगले आजै निर्णय सुनाउने तयारी गरेको छ ।