काठमाडौं– आफूलाई वैकल्पिक पार्टी दाबी गर्ने विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय निकालयलाई पुनर्संरचना र सुद्दढ गर्दै संघीयता खारेज गर्नुपर्ने बताएका छन्।
मिश्रले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन्। उनले विचारभन्दा माथि देश भएकाले आफूहरुले मार्ग परिवर्तन गरेको आशयको पोस्ट लेखेका छन्।
उनले धर्म निरपेक्षताबारे पनि जनमत संग्रह हुनुपर्ने बताएका छन्। ‘पूर्व जानकारी गराए अनुरुप मैले छलफल तथा बहसका लागि पार्टीमा प्रस्तुत गरेको १०,५०० शब्द लामो ‘नितान्त व्यक्तिगत’ धारणा नेपाली र अंग्रेजी दुवै भाषामा भर्खरै प्रकाशित भएको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘सो दस्तावेजका अन्य खण्ड तथा उपखण्डहरु निम्नाअनुसार रहेका छन्।’
उनले संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत, अखण्डताको लागि घातक, प्रमुख संस्थाहरुलाई क्षयीकृत गर्ने अर्को कडीलगायतका कारणले उपयुक्त शासकीय स्वरुप नभएको बताएका छन्।