जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ। सोमबार निर्वाचन आयोगले बहुमत सदस्यहरुको सनाखत गरी यादव समुहलाई आधिकारिकता दिएको जसपाका एक केन्द्रिय नेताले जानकारी दिए।
जसपाको आधिकारिता विवाद सम्बन्धिको ‘हेड काउन्ट’मा अध्यक्ष उपेन्द्र यादव पक्षमा ३४ र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा १६ कार्यकारिणी सदस्यले सनाखत गरेका थिए।
जसपा आधिकारिकता विवाद निरुपणका लागि एकता भएकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई ‘हेड काउन्ट’ का लागि निर्वाचन आयोगले सोमबार बोलाएको थियो।
सो क्रममा अध्यक्ष यादव पक्षमा ३४ र अर्का अध्यक्ष ठाकुर पक्षमा १६ कार्यकारिणी सदस्यले सनाखत गरेका हुन् । यादव पक्षमा सनाखत गरेका ३४ कार्यकारिणी सदस्य संख्या दुई तिहाई हो। जसपामा ५१ सदस्यी कार्यकारिणी सदस्य रहेका छन्।
टिकापुर घटनाको मुख्य योजनाकारको आरोपमा डिल्ली बजारस्थित कारागारबाट सनाखतका लागि आयोग पुगेका सांसद रेशम चौधरी भने तटस्थ बसे।