उसो त शालिन व्यक्तिको रुपमा चिनिन्छन्, रवीन्द्र मिश्र। रवीन्द्र मिश्र अर्थात् पहिलेका पत्रकार, अहिलेका नेता। नेता मात्र हैन, वैकल्पिक राजनीतिका नेता। मीठो बोली, हँसिलो अनुहार, धेरै ज्ञान। यस्तै–यस्तै विशेषता छन् उनमा।
२०७४ सालको वैसाख अन्तिम सातातिर पत्रकार विजय कुमार पाण्डेले पत्रकारिता र परोपकार छाडेर किन राजनीतिमा आउनुभयो? भनी सोधेको प्रश्नमा रवीन्द्रले दुबै हातको मुठ्ठी कस्दै बडो दर्बिलो आवाजमा भनेका थिए, ‘पत्रकारिता र परोपकार दुबैले देश बदल्न सक्दैनथ्यो...’
राजनीतिमा लागेर देश बदल्ने सपना बोकी साझा पार्टी खोलेका रवीन्द्रले आफु र आफ्नो पार्टीलाई सधैँ ‘वैकल्पिक शक्ति’ दावी गरिरहे। अझ भनौँ आफूमात्र विकल्प रहेको दावी गरिरहे। गरिरहेकै छन् अझै।
सडक होस्, सभा होस् वा होस् सञ्चारमाध्यम। रवीन्द्रको हातमा ‘माईक’ पर्नेबित्तिकै भनिहाल्छन्, ‘वैकल्पिक राजनीतिले पुराने राजनीतिक दलको जुन विकृति छ, त्यसलाई सन्तुलनमा राख्न सघाऊ पुर्याउँछ।’
रवीन्द्र मिश्रहरु कत्तिको वैकल्पिक धार बन्न सके वा सकेनन् भन्ने समयचक्रले स्पष्ट पार्ने नै छ। तर, अहिले एउटा ठुलो तप्काले भने उनलाई ‘राजावादी शक्ति’ भन्न थालिसकेको छ। र, भन्नेहरु समाजका गन्ने–मान्ने बुद्धिजिवी वर्गका पनि छन्।
संघीयता र धर्मनिरपेक्षताको विषयमा रवीन्द्रले ल्याएको प्रस्तावका कारण उनलाई राजावादी भनेर चिनिने राप्रपा पार्टीमा प्रवेश गर्न खगेन्द्र संग्रौला र नारायण वाग्लेजस्ता व्यक्तिहरुले सिधा वा साङ्केतिक रुपमा भन्न थालिसके।
यहाँनिर कुरा आउँछ– वैकल्पिक राजनीतिक पार्टीको।
के साँच्चै रवीन्द्र मिश्रहरु वैकल्पिक राजनीतिक शक्ति नै हुन त? वा वैकल्पिकको खोलको ओडेका उही पुरानै ढर्राको मानसिकता बोकेकाहरुको झुण्ड?
वैकल्पिक नै हुन् भन्नेहरुलाई एउटा प्रश्न– रवीन्द्रले संघीयता खारेज गर्नुपर्ने र धर्मनिरपेक्षताको बारेमा जनमत संग्रहमा जानुपर्ने भन्ने प्रस्तावलाई वैकल्पिक विचार मान्न कुन आधारमा सकिन्छ?
हो, जनता अहिले संघीयताप्रति खुशी छैनन्। मुलुकको व्यवस्थाप्रति खुशी छैनन्। मुलुकको अवस्थाप्रति खुशी छैनन्। संघीय व्यवस्था र यसका कारण आएको अवस्थाका कारण धेरैको मन कुँडिएको छ।
त्यसैले अवशेष मात्र बाँकी रहेको राजतन्त्रलाई जनताले सम्झिरहेका छन्। संघीय गणतन्त्र आउनुअघिको राजतन्त्रलाई सम्झिरहेका छन्।
अहिले आएको रवीन्द्र मिश्रको यो प्रस्तावले पनि राजतन्त्र नै सम्झिन बाध्य बनायो। नेपाल हिन्दू धर्म राज्य स्थापित हुनुपर्छ भन्ने राप्रपा अर्थात् एउटा राजावादी दलको लाइन समातेर आएको यो प्रस्तावलाई कुन रुपमा बुझ्ने?
यसअघिको चुनावमा जनताले नपत्याएपछी ‘भोट बैंक आफूतिर तान्ने एउटा रणनीतिक चालको रुपमा? या माथि उल्लेख भएजस्तो राजाप्रतिको झुकावको रुपमा?
दुईमध्ये कुनै एक कारणले पनि वैकल्पिक राजनीतिक दलको मर्मलाई न्याय दिन सक्दैन्।
‘भोट बैंक’का लागि जुनै हदसम्म जान सक्नेलाई कसरी वैकल्पिक राजनीतिक शक्ति मान्ने? उही भग्नावशेष राजतन्त्रलाई पुनः ठड्याउन खोज्नेले दिन चाहेको विकल्प के हो? यावत प्रश्नका पहाड खडा भएका छन् आमजनताको मनमा– आफूलाई वैकल्पिक शक्तिको रुपमा चिनाउने रवीन्द्र मिश्रहरुको बारेमा।
हुन त, रवीन्द्रले यो प्रस्तावलाई नितान्त व्यक्तिगत भनेका छन्। धेरै ‘फोरम’हरुमा उनको पार्टीका नेता कार्यकर्ताहरुले यसलाई निजी विचार नै भनेर व्याख्या गरिरहेका छन्। व्याख्या होइन वचाउ गरिरहेका छन्। किनभने, उनीहरुलाई पनि थाहा रवीन्द्रको यो प्रस्ताव धेरै कोणबाट गलत छ।
तर, चुनाव लडिसकेको राजनीतिक दलको अध्यक्षजस्तो शक्तिशाली पदमा आसिन व्यक्तिले ल्याएको यो प्रस्तावलाई व्यक्तिगत मान्न सकिन्छ?
यसर्थ, यो रविन्द्र मिश्रको व्यक्तिगत विचार होइन। यो वैकल्पिक राजनीतिको मर्ममाथि गरिएको प्रहार हो।
संघीयताको यात्रामा मुलुकले लामो यात्रा तय गरिसकेपछि आएको यो प्रस्ताव केवल एउटा भद्दा मजाक हो। वैकल्पिक राजनीतिको खोल ओडेर वैकल्पिक राजनीतिमाथि नै रवीन्द्र मिश्रहरुले गरेको भद्दा मजाक।