राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै महन्थ ठाकुर पक्ष पनि दल दर्ता गर्दैछ ।
त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको र एक घण्टामा निर्वाचन आयोग पुग्ने उनले जानकारी दिए ।
उनका अनुसार ठाकुर पक्षले जनता समाजवादी पार्टी लोकतान्त्रिक गठन गर्दैछन् । पार्टीको चुनाव चिह्न साइकल हुनेछ ।
नयाँ पार्टीमा ठाकुरसँगै राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, अनिल झा, उमाशंकर अरगरिया, एकवाल मियाँ, निर्जला राउत विमल श्रीवास्तव, शेखर सिंह, चन्दा चौधरीलगायत छन् ।
ठाकुर समूहले अब एकल अध्यक्ष प्रणालीमा नयाँ पार्टी दर्ता गर्ने विधान तयारी गरेको छ । ठाकुर समूहमा अहिले १४ जना सांसद र १६ जना कार्यकारिणी समिति सदस्य छन् ।
निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो । त्यसपछि ठाकुर, नेता महतोलगायत पार्टीमा साधारण सदस्य मात्रै रहेका थिए ।
अध्यादेश
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको थियो ।
यसअघि दल सम्बन्धी ऐनमा कुनै पनि पार्टी विभाजनका गर्नका लागि केन्द्रीय समिति र संसदीय दलमा कम्तीमा ४०÷४० प्रतिशत हिस्सा चाहिने प्रावधान थियो ।
आफ्नो सरकार गठनमा निर्णायक भूमिका खेलेका एमाले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी फुटाउन सजिलो हुने गरि प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएका हुन् । यो अध्यादेशले हाल दलविहीन रहेका नेता महन्थ ठाकुर पक्षलाई समेत राहत मिल्नेछ ।
अध्यादेशको सर्वत्र विरोभ भइरहेको छ ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ८ गते दल विभाजनलाई खुकुलो पार्ने अध्यादेश पेस गरेका थिए । यसको चौतर्फी आलोचना भएपछि ओलीले अध्यादेश फिर्ता लिएका थिए ।