अन्ततः प्रमुख विपक्षी दल नेकपा एमाले फुटेको छ ।
वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेसँगै एमाले फुटेको हो ।
नयाँ पार्टीको नाम ‘नेकपा एमाले समाजवादी’ र चुनाव चिह्न खुला किताब प्रस्ताव गरिएको छ । ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ ।
अध्यादेश तरंग
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । उनले बिहीबार अध्यादेश जारी गरेकी थिइने ।
यसअघि दल सम्बन्धी ऐनमा कुनै पनि पार्टी विभाजनका गर्नका लागि केन्द्रीय समिति र संसदीय दलमा कम्तीमा ४०÷४० प्रतिशत हिस्सा चाहिने प्रावधान थियो ।
आफ्नो सरकार गठनमा निर्णायक भूमिका खेलेका एमाले वरिष्ठ नेता नेपाललाई पार्टी फुटाउन सजिलो हुने गरि प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएका हुन् । यो अध्यादेशले नेपालसँगै हाल दलविहीन रहेका नेता महन्थ ठाकुर पक्षलाई समेत राहत मिलेको छ । ठाकुरले पनि नयाँ दल खोल्ने तयारी गरेका छन् ।
तर, अध्यादेशको सर्वत्र विरोध भइरहेको छ ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ८ गते दल विभाजनलाई खुकुलो पार्ने अध्यादेश पेस गरेका थिए । यसको चौतर्फी आलोचना भएपछि ओलीले अध्यादेश फिर्ता लिएका थिए ।