एमाले फुटाएर माधव नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले समाजवादी दल दर्ता गरेका छन् ।
बुधबार दिउँसो निर्वाचन आयोग पुगेर नेपाललगागतका नेताहरुले नेकपा एमाले समाजवादी पार्टी दर्ता गरेका हुन् । उक्त पार्टीको वरिष्ठ नेतामा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र ९५ केन्द्रीय सदस्य रहेका छन् ।
नेता राजेन्द्र पाण्डेका अनुसार नयाँ पार्टीमा प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी ३१ जना सांसद रहेका छन् ।
नयाँ पार्टीको चुनाव चिह्न खुला किताब प्रस्ताव गरिएको छ । तर, उनको पार्टीले प्रस्ताव गरेको ‘खुला किताब’ चुनाव चिह्न स्वागत नेपाल नेतृत्वको उन्नत लोकतान्त्रिक पार्टीसँग मिलेपछि त्यसबारे टुंगो लागेको छैन ।
तर, नयाँ पार्टी गठनमा नेपाललाई विश्वास पात्र तथा एमाले स्थायी कमिटी सदस्य भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्तले साथ दिएनन् ।
नेपाललाई स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने र बेदुराम भुसालले मात्रै साथ दिएका छन् । अन्य तेस्रो तहका नेताको साथ नेपाललाई छ ।
अध्यादेश तरंग
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
यसअघि दल सम्बन्धी ऐनमा कुनै पनि पार्टी विभाजनका गर्नका लागि केन्द्रीय समिति र संसदीय दलमा कम्तीमा ४०/४० प्रतिशत हिस्सा चाहिने प्रावधान थियो ।
आफ्नो सरकार गठनमा निर्णायक भूमिका खेलेका एमाले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी फुटाउन सजिलो हुने गरि प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएका हुन् । यो अध्यादेशले दलविहीन रहेका नेता ठाकुर पक्षलाई समेत राहत मिलेको छ ।
तर, अध्यादेशको सर्वत्र विरोध भइरहेको छ । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ८ गते दल विभाजनलाई खुकुलो पार्ने अध्यादेश पेस गरेका थिए । यसको चौतर्फी आलोचना भएपछि ओलीले अध्यादेश फिर्ता लिएका थिए ।