नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टी विभाजनमा माधव नेपालको साथ छाडेका एमाले स्थायी कमिटी सदस्यहरूबीचको वार्ता सम्पन्न भएको छ । बैठक सकरात्मक भएको दुबै पक्षका नेताहरूले बताएका छन् ।
बैठकमा असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउने सहमति भएको छ । त्यसका लागि मंगलबार स्थायी कमिटी बैठक बोलाइएको महासचिव ईश्वर पोखरेलले बताए । बैठक नेपालको साथ छाडेका एमाले स्थायी कमिटी सदस्यहरू पनि सहभागी हुनेछन् ।
एमालेलाई २ जेठ २०७५ मा फर्काउने प्रस्ताव बनाउन उपाध्यक्ष भीम रावल, महासचिव पोखरेल र उपमहासचिव विष्णु पौडेललाई जिम्मा दिइएको छ । उक्त प्रस्ताव मंगलबारको स्थायी कमिटी बैठकमा पेश हुनेछ ।
बैठकमा सहभागी एमाले स्थायी कमिटी सदस्य योगेश भट्टराईका अनुसार सहमतिअनुसार एमालेका केन्द्रदेखि टोलसम्मका सबै कमिटी २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्कनेछन् । यस्तै नवौँ महाधिवेशनपछि नेताले जे जिम्मेवारी पाएका थिए ती सबै जिम्मेवारी पनि पुनः क्रियाशील हुनेछन् ।
१० बुँदे सहमति कार्यान्वयनको थप मोडालिटी तय गर्न मंगलवार स्थायी कमिटीको बैठक बस्ने र केही दिनमै केन्द्रीय कमिटीको बैठक पनि बस्ने नेता भट्टराईले बताए ।
आजको छलफलमा अध्यक्ष ओलीले आफूले पार्टीका सबै नेतालाई समान व्यवहार गर्ने, पार्टीलाई एकताबद्ध बनाउन जिम्मेवार रहेको र नेताहरूलाई पुरानै जिम्मेवारी दिन तयार रहेको बताएका थिए ।
आजको छलफलमा अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, नेताहरू भीम रावल, भीम आचार्य, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त र योगेश भट्टराई थिए ।
लामो समय नेपाल समूहसँग रहेका, तर उनको नेतृत्वको नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरश कार्यान्वयन गर्न नेतृत्वलाई अल्टिमेटम दिएका थिए । उक्त अल्टिमेटम मंगलबार सकिँदैछ ।