पछिल्लो समय चर्चा तथा विवादमा रहेको त बनेको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे राष्ट्रिय स्तरका सञ्चार माध्यमबाट विज्ञापन बज्न थालेपछि त्यसको विरोध हुन थालेको छ ।
एपी वान टेलिभिजनमा प्रसारित विज्ञापनमा ‘एमसीसीको लगानीलाई देशको भविष्यका लागि गरिने लगानी’ भएको उल्लेख गरिएको छ ।
‘एमसीसी आफ्नै देशको फाइदाका लागि आएको हो, एमसिसी परियोजनाले विद्युत् उत्पादन गरिदिएपछि विदेशमा पनि निर्यात गर्न सकिने र देशको आर्थिक संवृद्धि हासिल गर्न सकिने’भन्ने भिडियो विज्ञापनको संवादमा उल्लेख छ ।
राजनीतिक रुपमा समेत विवादित एमसीसीबारे विज्ञापन नै बनाएर प्रसारण गर्न थालेपछि फेरि त्यसको विरोध हुन थालेको छ । एमसीसीबारे विज्ञापन प्रसारण रोक्न माग गर्दै सामाजिक सञ्जालमा अभियान नै सञ्चालन हुन थालेका छन् ।
डा. सूर्यराज आचार्यले टिभीमा बज्ने गरेको विज्ञापनमा मुलुकको हितमा नरहेको एमसीसी सम्झौता संसदबाट पास नभए विद्युत प्रसारण लाइन बन्नै नसक्ने आशयको भ्रामक सन्देश दिइएको आरो लगाएका छन् ।
प्रसारण लाइन प्राथमिकतामा हुनुपर्ने र २०–२५ अर्बमा नेपाल आफैंले बनाउन सक्ने प्रसारण लाइनका लागि चर्को रणनीतिक मुल्यको एमसीसी आवश्यक नरहेको उनको तर्क छ ।
यसैबीच उन्नत लोकतन्त्र पार्टीले तत्काल एमसीसी समर्थनको विज्ञापन हटाउन चेतावनीसहित एपी वान टेलिभिजनलाई स्मरणपत्र बुझाएको छ ।
एमसीसी परियोजना नेपालीका लागि शेयर कारोबारभन्दा फलदायी हो भन्ने भ्रामक देशघाती विज्ञापन टेलिभिजनले प्रसारण गर्न थालेकोमा गम्भीर ध्यानाकर्षण भएको स्मरणपत्रमा उल्लेख छ ।
एमसीसीबारेका विज्ञापन तत्काल नरोके त्यस्ता सञ्चार माध्यमलाई बहिष्कार गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।
पत्रमा भनिएको छ, ‘संसदबाट पास भएपछि मात्रै लागू हुने भनिएको देशघाती अमेरिकी सैन्य रणनीति अन्तर्गतको एमसीसी सम्झौताका पक्षमा संसदले देशघाती छ कि छैन भनी निर्णय नलिइसकेको अवस्थामा सो सम्झौताको पक्षमा सञ्चार माध्यमले प्रचारबाजी गर्नु आफैँ संसदको क्षेत्राधिकारमाथि समेत हस्तक्षेप भएकोले सो तर्फ समेत ध्यानाकर्षण गराउँदै तत्काल उक्त विज्ञापन रोक्न पुनः अनुरोध गर्दछौं ।’
युवा अभियान्ता हेमराज थापाले एमसीसीबारेको विज्ञापनलाई देश विरोधी विज्ञापन भनेका छन् । साथै उनले त्यसलाई रोक्न सबैले दवाब दिनुपर्ने बताएका छन् ।
सामाजिक अभियान्ता ईशा गुरुङले एपी वान टेलिभिजनले एमसीसीको प्रचार गर्नु देश र जनताको हितमा नभएको बताएकी छन् ।
उनले सामाजिक सञ्जालमा भनेकी छन्, ‘एपी वान टेलिभिजनले राष्ट्रघाती एमसीसी प्रमोट गर्नु देश र जनताको हितमा कदापी छैन ।’
गत वर्ष असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसिसी अझै पारित हुन सकेको छैन । अमेरिकाले पाँच वर्षभित्र जलविद्युत् र सडकमा उक्त परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्ने बताइएको छ । तर, त्यसबारे राजनीतक सहमति हुन सकेको छैन । जसकारण एमसीसी झन विवाददि बन्दै गइरहेको छ भने त्यसको विरोध भइरहेको छ ।