गत वर्ष चैत २३ गते। विवेकशील साझा पार्टीले केन्द्रीय कार्यालय बखुन्डोलमा पत्रकारसँग अन्तर्क्रिया कार्यक्रम राखेको थियो।
कार्यक्रममा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र, संयोजक मिलन पाण्डे, पार्टी प्रचार विभाग प्रमुख प्रकाशचन्द्र परियार, प्रवक्ता शरदराज पाठकलगायत उपस्थित थिए।
कार्यक्रमको सुरुमा पार्टी विभाग प्रमुख परियारले सुशासन र सुसंस्कृत राजनीतिमा आफ्नो पार्टीले पुर्याएको योगदानको चर्चा गरे।
त्यसपछि संयोजक पाण्डेले पार्टीले पछिल्लो समय गरेका कामकारबाही र अबको दुई महिनाभित्र महाधिवेशनका सबै काम सक्ने जिकिर गरे। पाण्डेले नेपाली जनताहरु एमाले र कांग्रेसको दास भएर बस्न नहुने पनि सुझाए।
पाण्डेपछि मिश्रले आफ्ना कुरा राखे। उनले सुरुमै जनताका अपेक्षा आफूहरुले पूरा गर्न नसकेको भन्दै दुःख व्यक्त गरे।
‘लोकतन्त्र धर्मराएको अवस्था छ। सरकार बदलिरहेका छन्, तर जनताको अवस्था उस्तै छ’, लोकतन्त्रका उपलब्धीहरु कुनै पनि नेतृत्वले संस्थागत गर्न नसकेकोमा उनी चिन्तित थिए।
उनले आफ्नो पार्टी संविधानमा विश्वास गर्ने पार्टी भएकाले संविधानअनुसार नै नयाँ सरकार बन्नुपर्ने पनि बताए।
अध्यक्ष मिश्रले बोलिसकेपछि कार्यक्रममा पत्रकारका लागि फ्लोर खुला गरियो।
पत्रकारहरुले पार्टी महाधिवेशन, पार्टीका एजेन्डा, संगठन निर्माण, नयाँ सरकार गठनबारे पार्टीका धारणालगायतका प्रश्न राखे।
पत्रकाहरुले आफूलाई सोधेका प्रश्नको उत्तर सबै नेताहरुले पालैपालो दिए।
प्रश्न सोध्ने पालो आएपछि यो पंक्तिकारले पार्टी अध्यक्ष मिश्रलाई सोध्यो– धर्म निरपेक्षता र संघीयताका सवालमा पार्टीको धारणा के हो? अनि बजारमा तपाईं राजावादी हो भन्ने हल्ला सुनिन्छ, के तपाईं राजावादी हो?
प्रश्न सुनेर रवीन्द्र मिश्र मज्जैले मुस्कुराए। उनी एकछिन रोकिए पनि।
‘तपाईंले मिश्र राजावादी हो भन्ने हल्ला पनि आइरहेका छन् भन्नुभयो हैन? त्यसो हुनाले मैले अलिकति आफ्नो पृष्ठभुमी र आफ्नाबारे भइरहेका हल्लाबारे बताउनै पर्छ’, उनले भन्न थाले, ‘म बीबीसीमा कार्यरत रहँदा नेताहरूसँग अन्तर्वार्ता लिन्थेँ, त्यसबेला माओवादी नेतासँग अन्तर्वार्ता लिएको भन्दै मलाई माओवादी नजिक भनियो। यस्तै २०५६ को निर्वाचनमा एमालेले जित्नैपर्छ भनेर भू–मध्यरेखा स्तम्भमा मैले लेखेपछि त्यसबेला रवीन्द्र मिश्र एमाले रहेछ भनियो।’
मिश्रले अगाडि भने, ‘केही समयपछि रवीन्द्र मिश्र कांग्रेसी हो भन्ने हल्ला चल्यो। दोस्रो जनआन्दोलन सुरू हुँदा मैले एउटा तर्क अगाडि सारेको थिएँ– राजदरबार भत्काएर त्यसको ठाउँमा दिल्ली दरबार निर्माण नगरौं। किनभने नेपालीले नेपालीलाई हानेको चड्कन सहन सकिन्छ, नेपालीलाई विदेशीले आएर हानेको चड्कन सहन सकिँदैन भनेर तर्क गरेँ अनि म राजावादी भएँ।’
मिश्र यत्तिमै रोकिएनन्। पार्टी खोलिसकेपछि उनले आफूलाई लाग्ने गरेको एउटा अर्को आरोपबारे आफैँले बताए र त्यसको पनि खण्डन गरे।
‘जब साझा पार्टी खोलें त्यसपछि म युरोपियन दलाल भएँ। नेपाली धर्मसंस्कृति मास्न आएको एजेन्ट भएँ। म जहाँ छु, त्यहीँ छु। म जे छु, त्यही छु। मेरो स्वाभिमान धरातलबाट कत्ति पनि डगमगाएको छैन। म यस्ता किसिमका हल्लाहरूबाट विचलित हुने मानिस पनि होइन,’ उनले खण्डन गरे, ‘मलाई राजावादीदेखि डलरवादीसम्म भने तर त्यस्ता कुराले मलाई खासै कुनै अन्तर पनि राख्दैन।’
धर्मनिरपेक्षता र संघीयताबारे भने उनले यस यी विषयलाई पार्टीमा छलफल गर्दै जाने विषयको रुपमा राखिएको बताएका थिए।
‘राजनीति र कूटनीति तपाईंले खोजेजस्तै सधैँ स्पष्ट उत्तर हुँदैन,’ उनले भने।
पाँच महिनाअघि, के तपाईं राजावादी हो? हो भनेर सोद्धा कड्किएका मिश्र अहिले खुला रुपमै लोकतन्त्रको विरोधमा उत्रिएका छन्। साउन ११ गते पार्टीभित्र छलफल नै नगरी ‘विचारभन्दा माथि देश’ शीर्षकको दस्तावेज सार्वजनिक गरी अहिले उनी मिश्रले संघीयता, धर्म निरपेक्षता र लोकतन्त्रको विकल्प खोज्नुपर्ने सुँगा रटान लगाइरहेका छन्।
त्यसो त मिश्रको यो विरोधाभाष अभिव्यक्ति प्रतिनिधि अभिव्यक्ति मात्र हो। उनको केही दिनअघिको र पछिको अभिव्यक्तिमा आकाशपातलको फरक देखिने दशौँ क्लिपहरु सामाजिक सञ्जालमा छ्याछ्याप्ती भेटिन्छन्।
कतिसम्म भने लोकतन्त्र, संघीयता, धर्म निरपेक्षता विरोधी राजनीतिक दस्तावेज सार्वजनिक हुनुभन्दा एक दिन अघिसम्म पनि उनी आफ्नो पार्टीलाई लोकतन्त्र र संविधानमा विश्वास गर्ने पार्टी भएको भन्न हिच्किच्याउँदैन्थे।
आखिरमा किन मिश्रको बोलीमा हिजोको आजै १८० डिग्री परिवर्तन आयो त? कतै मिश्रमा पनि केपी ओली, विमलेन्द्र निधि, शशांक कोइराला, शेखर कोइराला, कमल थापा, सुजाता कोइराला लगायतलाई जस्तै धर्मलाई ‘पोलिटिकल टुल’ नबनाउँदासम्म चुनाव जित्न सकिन्न भन्ने भय उत्पन्न भएको त होइन?
के ‘महत्वकांक्षी’ मिश्र पनि अब आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न नागरिकको धार्मिक आस्थामाथि खेलेर भोट बटुल्ने दाउमा लागेकै हुन् त?
गम्भीर प्रश्न खडा भएको छ।
त्यसो त मिश्र सधैँ राजावादी रहेको आरोप राजनीतिक वृत्तमा लाग्ने गर्थ्र्यो। राजनीतिमा आउनु र राजनीतिमा आएर दस्तावेज सार्वजनिक हुनुअघिसम्म राजतन्त्र र धर्म निरपेक्षताबारे जे बोल्थे, त्यो वास्तविक उनी थिएनन्। वास्तविक उनी त त्यो हुन्, जे अहिले बोलिरहेका छन्।
जेहोस्, के कुरामा चाहिँ सन्देह छैन भने उनी जनताको धार्मिक भावनामाथि खेलेर भोट बटुल्ने ओली र निधिकै लाइनमा छन्।