ल्याण्डिङ गियरमा समस्या देखिएपछि गन्तव्यमा अवतरण हुन नसकेको बुद्ध एयरको विमान अहिले अवतरण भएको छ ।
काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको विमानको ल्याण्डिङ गियरमा समस्या देखिएपछि सो विमान अवतरण गर्न नसकेर काडमाडौं फर्किएको थियो । ‘पाङ्ग्रामा समस्या देखिएर अवतरण हुन सकेको थिएन ।
विमानमा समस्या देखिएपछि अवतरण हुन नसकेर काठमाडौंको आकाशमा फर्किएर केहिबेर होल्ड भएको थियो । विमानलाई काठमाडौंमा आकस्मिक अवतरण गराउने तयारी समेत भइसकेको थियो ।
त्यसका लागि त्रिभुवन विमानस्थलमा बारुणयन्त्र र एम्बुलेन्स समेत तयारी अवस्थामा राखिएको थियो ।
अवतरण हुन नसकेको विषयमा बुद्ध एयरले स्पष्टिकरण दिएको छ ।
हेर्नुस् बुद्ध एयरले जारी गरेको विज्ञप्तिः
हाम्रो आज २७ सेप्टेम्बर काठमाडौंबाट विराटनगर उडेको जहाज कल साइन 9N-ANI, उडान संख्या U4 701, मा व्यस्क ६८, बच्चा २, इन्फ्याण्ट ३ जना गरि ७३ जना यात्रु रहेको थियो ।
जहाज विराटनगर अतवरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको तथा टावरले पनि गियर नझरेको जानकारी दिएपश्चात् जहाजलाई क्याप्टेनले पुनः काठमाडौं फर्काउने निणर्य गरे । सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौंको आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पुरा गरि सुरक्षितसाथ अवतरण गरेको छ ।
जहाजमा ल्याण्डिङ गेयरका लागि दुईवटा इन्डिकेटर रहेको हुन्छ । जस अनुसार प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको देखियो ।
‘सुरक्षामा शुन्य सहनशिलता’ अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौंमा फर्काउने निणर्य गर्यो । काठमाडौं आकाशमा आइसकेपछि क्याप्टेनले बुध्द एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दियो । जस अनुसार अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दिशा निर्देशिका अनुसार काठमाडौं विमानस्थलमा सुरक्षितसाथ जहाजलाई ‘नर्मल’ अतवरण गराइयो ।
यस क्रममा यात्रुहरुमा पर्न गएको असुविधाप्रति हामी क्षमायाचना व्यक्त गर्दछौं ।
सुरक्षित अवतरणका लागि तयारी अवस्थामा रहेका नेपाल प्रहरी, नेपाल सैनिक, नागरिक उडड्डयन प्राधिकरण, अग्नि नियन्त्रक टोलीका साथ सबैमा धेरै धन्यवाद ।
हामी पुनः सुरक्षित हवाई यात्राको प्रतिवद्धता व्यक्त गर्दछौं ।