सोमबार बिहान सवा ८ बजे काठमाडौंबाट विराटनगरका लागि उड्यौंं । विराटनगर पुगेपछि ल्याण्डिङ किन भएर ? भनेर सोध्दा जहाजमा समस्या भयो भन्ने जवाफ पायौं । क्याप्टेनले ६÷७ पटक ल्याण्डिङ प्रयास गरे पनि सफल भएन ।
त्यसपछि जहाज काठमाडौं फर्कियो । त्यतिबेलासम्म केही लागेको थिएन । तर, काठमाडौं पुग्दा पनि पटक पटक ल्याण्डिङको प्रयास असफल भएपछि मनमा चिसो लाग्यो ।
विमानस्थलमा दमकल, सुरक्षाकर्मी तयारी अवस्थामा रहेको देख्यौं । त्यसपछि जिन्दगी यत्ति नै रहेछ, बाचिँदैन, दुर्घटना हुन्छ नै भन्ने लाग्यो । रुवाबाँसी चल्यो ।
कतिपयले त जहाजबाटै हाम फाल्छौं, ढोका खोलिदिनुस् भन्न थाले ।
तर, एयर होस्टेजले सक्दो बचाउने प्रयास गर्छौं, इन्धन सक्दैछौं, त्यसपछि जहाजमा आगो लाग्दैन भनेर सम्झाइ रहनुभयो, बेला बेलामा । तर, हामीलाई सम्झाउँदा सम्झाउँदै पनि एयर होस्टेजको आँखामा आँसु बगिरहेको थियो ।
मैले त जिन्दगी यत्ति नै रहेछ, बाचिँयो भने फेरि भटौंला भनेर घरमा मेसेज लेखिसकेको थिए ।
क्याप्टेनले अन्तिम पटक प्रयास गर्छु भन्दै ल्याण्डिङको प्रयास गर्नुभयो र सफल पनि भयो । जहाज सुरक्षित अवतरण भयो । जहाजमा रहेका ७३ यात्रु र चालक दलका सदस्य पनि बाच्न सफल भयौं ।
सोमबार बिहान ल्याण्डिङ गियरमा समस्या देखिएपछि विराटनगरबाट फर्केर काठमाडौंमा अवतरण भएको बुद्ध एयरको जहाजका यात्रु प्रताप लिम्बुको विमानस्थलमा सञ्चारकर्मीलाई सुनाएको अनुभव ।
सम्बन्धित समाचारः
विराटनगरपछि पोखरा उडेको बुद्धको जहाजमा पनि समस्या
७३ यात्रु रहेको बुद्धको विमानमा देखिएको समस्या के हो ? कसरी भयो सुरक्षित अवतरण ?
काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको पाङ्ग्रा अवतरण गर्ने बेलामा नखुलेपछि...