नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् ।
एमालेको पालिका अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै ओलीले परमादेश जारी गर्ने सबैले राजीनामा दिनुपर्ने बताएका हुन् ।
ओलीले बार र वकिलले संसद् विघटनको समयमा इजलास तोक्ने काम गरेको आरोप लगाए । उनले विगतमा अदालतको फैसला संविधान विपरित भएको भए पनि सर्वोच्चको फैसला मान्नुपर्ने धारणा अनुरुप एमाले अघि बढेको स्पष्ट पारे ।
ओलीले परमादेशका कारण यो अवस्था आएको बताए । ‘सर्वोच्च अदालतमा तमाशा देखिएको छ । श्रीमानहरू एक अर्काले गरेका फैसला आफै उधिन्न थालेका छन् । परमादेश त पाँचै जनाले गरेका थिए । एक जनासँग किन राजीनामा माग्नुहुन्छ श्रीमानज्यूहरू’, ओलीले भने, ‘पाँचै जनाले राजीनामा गरेको राम्रो हाइन र ?’
औलीले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीको रक्षाका लागि न्यायालय मर्यादित र सम्मानित बनाइरहनुपर्ने बताए । सर्वाेच्च न्यायलय नै विवादित बनिरहँदा जनताले न्याय पाउने विषय निराशाजनक बन्ने तर्क उनको छ ।
एमालेलाई कमजोर बनाउन विभिन्न व्यक्ति र तत्वहरु सक्रिय भएका कारण पार्टी चोइटिने अवस्थामा पुगेको पनि उनले बताए ।