नेपाल पर्यटन बोर्डका सीइओ धनन्जय रेग्मीले ६ बोतल रक्सी नछुटाएको भन्दै भन्सारका एक कर्मचारीलाई कुटेका छन् ।
भाइटीकाको दिन बिहान लन्डनबाट नेपाल आएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन जाँच कक्षमा भन्सार जाँचपासमा खटिएका विमानस्थल भन्सारका नायव सुब्बा सुमन थापालाई कुटेका हुन् ।
उनले ब्यागेजमा ६ बोतल मदिरा ल्याएका थिए । उक्त ६ बोतल रक्सी नछुटाएको भन्दै भन्सारका कर्मचारी कुटेका हुन् ।
नायव सुब्बा थापाले ६ बोतल मदिरा देखेपछि साथमा कतिजना हुनुहुन्छ भने सोध्दा बोर्डका सीइओ रेग्मीले, ‘म को हो चिनेको छस् ? म देश चलाउने मान्छे हुँ’ भन्दै कुटपिट गरेका हुन् ।
त्यसपछि रेग्मीलाई भन्सार अधिकृतले नियन्त्रणमा लिएका थिए । उनलाई भन्सार ऐन अनुसार पाँच हजार जरिवाना गरिएको छ । ऐन अनुसार विदेशबाट फर्किनेले प्रतिव्यक्ति १ लिटर मदिरा ल्याउन पाउँछ ।
सो क्रममा स्वास्थ्य जाँच गर्दा रेग्मीले मदिरा सेवन गरेको पुष्टि भएको थियो ।
रेग्मीलाई केपी ओली सरकारको पालामा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले नियुक्त गरेका थिए ।