नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको आधारभूत मान्यताको रक्षागर्न आवश्यक रहेको बताएका छन् ।
चितवनको सौराहामा शनिबारदेखि शुरुभएको दशौं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।
राजनीतिमा अनुचित प्रयोगका कारण नेपालको राजनीति समस्यामा परेको चर्चा गर्दै अध्यक्ष ओलीले भने, ‘लोकतान्त्रिक अभ्यासलाई कुल्चिएर अगाडि बढ्दा समस्या आइरहन्छ, लोकतन्त्रको आधारभूत मान्यतालाई हामीले बचाउनुपर्छ ।’ लोकतन्त्रको रक्षा गर्न एमाले सक्षम रहेको पनि उनले चर्चा गरे ।
यसअघि असोज १५ देखि १७ गतेसम्म उत्साहप्रद रुपमा विधान महाधिवेशन सम्पन्न गरेको एमालेले दशौं महाधिवेशन पनि सोहीअनुरुप सफल बनाउनुपर्ने उनले बताए । एमाले सिद्धियो भन्नेहरुलाई महाधिवेशनबाट विरोधीको सपना चकनाचुर गर्ने उनले बताए । देश बनाउनका निम्ति एमालेले नेतृत्व गर्ने उनले चर्चा गरे ।
राजनीतिक समस्याको समाधान गर्दै ठीकसँग अघि बढ्ने काम एमालेले गर्ने बताउँदै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले राष्ट्रको सामाजिक अग्रगमनका लागि सही ढंगले अघि बढ्न आवश्यक रहेको बताए । ‘महाधिवेशनले यस्तो नेतृत्व प्रदान गर्नुपर्छ, एकतावद्ध पार्टी बनाएर चुनौतिको सामना गर्न सकोस्’, उनले भने ।
सबैको साझा प्रयास र मेहनतले पार्टी संगठित बनेको चर्चा गर्दै अध्यक्ष ओलीले लामो बाटो तय गरी अहिलेको अवस्थामा आएकाले पार्टीलाई चुस्तरुपले देश रुपान्तरणमा लगाउन आवश्यक रहेको बताए । नेपाली राजनीतिमा अनेक जाली षडयन्त्रहरु हुनेगरेकाले सचेत रहनुपर्नेप्रति उनले पार्टी पङ्तिलाई सचेत गराए ।
सबै कुराको गम्भीरतालाई ध्यान राखेर एमाले अघि बढ्न आवश्यक रहेको उनले चर्चा गरे । सबै पतिकूलतासँग जुध्न, चुनौतिको सामना गर्नसक्ने पार्टी निर्माणको आवश्यकता रहेको र एमाले त्यसकालागि तयार रहेको उनले बताए ।
ओलीले पार्टीभित्र अहिले प्रतिष्पर्धाभन्दा एकता मुख्य भएको बताए ।
उनले आफू कति बाच्नु भन्ने थाहा नभएको तर कार्यकर्ता देख्दा गर्व लाग्ने गरेको बताए ।
उनले भने, ‘म कति बाँच्छु थाहा छैन। म धेरै जीर्ण स्वास्थ्यबाट गुज्रिएर आएको हो । त्यति साह्रो भर नहुन सक्छ। तपाईंहरूजस्ता तेज तरार नेता÷कार्यकर्ता देख्दा आज ढुक्कले निद्रा लाग्छ, खाना रूच्छ । देश, आन्दोलन, पार्टी, लोकतन्त्रको भविष्य सुनिश्चित देख्छस । समृद्धिको यात्रा सुनिश्चित भएकोमा आन्नदले निद्रा लाग्छ। यस्ता कार्यकर्ता भएको पार्टीको अध्यक्ष हुन पाउँदा गर्व लाग्छ ।’