दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएका देशहरूमा यात्रा प्रतिबन्ध लगाउन प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका छन् ।
उनले ट्वीट गर्दै भनेका छन्, ‘धेरै देशले ओमिक्रोन प्रभावित देशबाट आउने उडान रोकेका छन् । हामी किन ढिलो ? सबैभन्दा धेरै विदेशी उडानहरू दिल्ली आउँछन् । दिल्ली सबैभन्दा बढी प्रभावित छ । प्रधानमन्त्री जी कृपया उडानहरु तुरुन्त बन्द गर्नुहोस् ।’
दक्षिण अफ्रिकाबाट फर्किएका एक व्यक्तिलाई चण्डीगढमा कोरोना पोजेटिभ देखिएपछि उनले ट्विट गर्दै मोदीलाई सो आग्रह गरेका हुन् ।
दक्षिण अफ्रिकाबाट भारतको चण्डीगढ फर्केका एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ । यस बाहेक उनको परिवारका अर्का सदस्य र उनको घरमा काम गर्ने व्यक्तिको पनि रिपोर्ट पोजेटिभ आएको छ ।
यी नमूनाहरु जिनोम सिक्वेन्सिङका लागि प्रयोगशालामा पठाइएको छ ।
चिन्ता
दक्षिण अफ्रिकामा भेटिएको कोरानाको नयाँ भेरियन्टले विश्वलाई चिन्तित बनाएको छ । यो कोरोनाको अहिलेसम्मकै सबैभन्दा उत्परिवर्तीत संस्करण हो । यसकारण वैज्ञानिकहरुले यसलाई डरलाग्दो भनेका छन् ।
यो भेरियन्टलाई भारतमा दोस्रो लहर र विश्वका धेरै देशहरुमा तेस्रो लहर निम्त्याएको डेल्टा भेरियन्टभन्दा बढी म्युटेशनल र छिटो फैलिने भनिएको छ ।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबारेमा बढ्दो चिन्ताका बीचमा भारतले विदेशबाट भारत आउने यात्रुहरुका लागि नयाँ दिशानिर्देश जारी गरेको छ । यसअनुसार अब एयर सुविधा पोर्टलमा रेहको स्वघोषणा फाराममा सबै विदेशी यात्रुले उडानमा चढ्नुअघि आफ्नो १४ दिनको यात्राको जानकारी दिनुपर्नेछ ।
जोखिममा रहेको मुलुकबाट आउने यात्रुका लागि देशका प्रत्येक विमानस्थलमा छुटै एरिया निमार्ण गरी आरटी पीसीआर परीक्षणको नजिता पर्खने पनि निर्देशिकामा भनिएको छ । सबै विमानस्थलमा थप आरटी पीसीआर सुविधा पनि निर्माण गरिनेछ ।
भारत ओमिक्रोन सचेत रहेको र पुष्टि हुनेवित्तिकै लकडाउन गर्ने तयारीमा छ । त्यसबारे अधिकारीहरूले छलफल अगाडि बढाइसकेका छन् ।
नेपालमा के छ तयारी ?
नयाँ भेरियन्टका कारण बेलायत, युरोपेली संघ, अमेरिका र क्यानडाजस्ता देशहरुले दक्षिण अफ्रिकालगायत केही अफ्रिकी देशहरुमा उडान प्रतिबन्ध लगाएका छन् ।
विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भेरियन्टलाई चिन्ताको विषय भनेको छ । ओमिक्रोनका कारण विश्वभर संक्रमण बढ्ने उच्च जोखिम रहेको र यसले विश्वका केही क्षेत्रमा गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी समेत दिएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार नेपाल पनि यस भेरियन्टको जोखिममा रहेको छ । नेपालले विभिन्न देशहरुसँग हवाई उडानलाई खुल्ला गरेकाले उक्त भेरियन्ट नेपाल भित्रन सक्ने सम्भावना रहेको उनको भनाइ छ ।
नेपालले विभिन्न देशहरुसँगको हवाई यात्रालाई खुल्ला गरेको छ । नयाँ देखिएको भेरियन्ट अन्य देशहरुमा पनि पुगिसकेको छ । त्यस्तो देशबाट नेपाल आउनेहरुमा उक्त भाइरसको संक्रमणको जोखिम उच्च हुन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै भेरियन्ट फेला परेका देशबाट नेपाल आउने व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनमा राखी पिसिआर गरिने बताए ।
सोमबारको मन्त्रिपरिषद् बैठकले कोरोनाको नयाँ भेरियन्ट देखिएका मुलुकबाट नेपाल प्रवेश गर्ने व्यक्तिको व्यवस्थापन गर्न आदेश दिएको छ ।
अहिले नेपालको सिधा हवाई उडान दक्षिण अफ्रिकासँग छैन । तर, अन्य देशमा पनि यो संक्रमण फैलिएको हुनाले कुन कुन देशसँगको उडान रोक्ने भन्ने सन्दर्भमा भने केहीपछि निर्णय हुनेछ ।
भारतसँग नेपालको खुला सिमाना छ । त्यसकारण भारतमा उक्त भेरियन्ट देखिएमा नेपालमा पनि फैलने उच्च जोखिम छ । त्यसकारण भारतमा ओमिक्रोनले कुन रुप लिन्छ भन्नेमा नेपालमा फेरि लकडाउन हुने नहुने कुरा निर्धारण गर्ने स्वास्थ्य मन्त्रालयका अधिकारीको भनाइ छ ।
यसअघि भारतमा कोरोना संक्रमण फैलिएलगत्तै नेपालमा पनि कोरोनाले भयावह रुप लिएको थियो ।