शुक्रबारदेखि सुरु हुने नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीका तीन वटै पक्ष छलफलमा जुटेका छन् ।
सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्ष आन्तरिक छलफलमा जुटेका हुन् ।
आकांक्षी धेरै हुँदै तीन पक्षलाई पदाधिकारी छान्न सकस भएको छ ।
कांग्रेस पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने र एक कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट निर्वाचित हुने पार्टी विधानको प्रावधान छ ।
बूढानीलकण्ठमा पदाधिकारीबारे छलफल
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशन सम्बन्धमा छलफल गर्न बोलाएको आफ्नो समूहका बैठक बूढानीलकण्ठमा जारी छ । बैठकमा महाधिवेशनको तयारी, महाधिवेशनमा पदाधिकारीका उम्मेदवारीलगायत विषयमा छलफल भइरहेको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए ।
सभापति देउवाले यसअघि नै सभापतिमा दोहोरिने बताइसकेका छन् । आजको बैठकमा अन्य पदाधिकारीका उम्मेदवारबारे छलफल भइरहेको छ ।
देउवा पक्षबाट उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महामन्त्रीमा बालकृष्ण खाँण, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, विश्वप्रकाश शर्मा, एनपी साउदलगायत आकांक्षी छन् । आठ सहमहामन्त्रीका लागि पनि दोब्बर आकांक्षी छन् ।
पौडेल पक्षबाट सभापति को ?
यसैगरी कांग्रेसका वरिष्ठ नेता पौडेल समूहको बैठक पनि महाधिवेशनका लागि आफ्नो समूहबाट सभापतिको एकमात्र उम्मेदवार बनाउने विषयमा छलफल गर्न जारी छ ।
केन्द्रीय सदस्य रामकृष्ण यादवका अनुसार सो समूहका नेताहरुको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसिरहेको छ । उक्त बैठकमा उक्त समूहका केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्व जिल्ला सभापतिहरुसँग राय–परामर्श गरी एक मात्र उम्मेदवार घोषणा गर्ने तयारी छ ।
त्यसपछि अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारको टुङ्गो लगाउने बताइएको छ ।
वरिष्ठ नेता पौडेल समूहबाट पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् । पौडेल समूहबाट चारमध्ये को सभापतिको प्रतिस्पर्धी बन्ने भन्ने टुंगिएको छैन । त्यसैका लागि पौडेल समूहका नेता निरन्तर छलफलमा छन् ।
अहिले पौडेल आफ्नो समूहको बैठक छाडेर चण्डोलस्थित सिटौलाको निवास पुगेका छन् ।
सिटौला आफै उम्मेदवार कि अरुलाई समर्थन ?
नेता कृष्ण प्रसाद सिटौला समूहको छलफल पनि सुरु भएको छ । उनको निवासमा छलफल सुरु भएको हो । आजको छलफलबाट सिटौलाले उम्मेदवारी दिने कि अर्को पक्षलाई सहयोग गर्ने भन्ने निर्णय हुनेछ ।