नेपाली कांग्रेसको सभापतिका प्रत्यासी प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।
सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिए । देउवासँगको भेटपछि नेता सिंहले देउवालाई नै समर्थन गर्ने जानकारी दिए ।
सिंहले देशभरीका महाधिवेशन प्रतिनिधि देउवाको पक्षमा देखिएकाले आफूले समर्थन गरेको उल्लेख गरे । देउवाले निजी निवास चाक्सिबारीमा आएर समर्थन मागेपछि सिंहले सहयोग गर्ने वचन दिएका हुन् ।
सिंहले आफूहरु नेतृत्व परिवर्तनको पक्षमा रहे पनि बहुमतप्राप्त महाधिवेशन प्रतिनिधिको साथ रहेकाले समर्थन गरेको जानकारी दिए ।
सभापति प्रत्यासी देउवाले सिंह र सुजाता कोइरालाको सदासयताप्रति धन्यवाद दिए ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि दोस्रो चरणमा मतदान हुँदैछ । मंगलबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार सभापति पदका पाँच उमेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि निर्वाचन दोस्रो चरणमा गएको हो ।
पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले १७२३, सिंहले ३६० र विमलेन्द्र निधिले २३९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका थिए ।
अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने शेर बहादुर देउवा र शेखर कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ ।