नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति चयनका लागि दोस्रो चरणको मतदान सुरू भएको छ ।
सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि सभापति पदको पुनः मतदान सुरू भएको हो । सबैभन्दा बढी मत ल्याउने शेरबहादुर देउवा र शेखर कोइराला सभापतिका लागि प्रतिस्पर्धामा छन् ।
सभापति पदका उम्मेदवार देउवाले खसालेसँगै मतदान सुरु भएको हो । सभापतिका अर्का प्रत्यासी शेखर कोइरालाले पनि मत हालिसकेका छन् ।
सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंह, उपसभापति विमलेन्द्र निधि र कल्याण गुरूङको साथ छ भने कोइराला एक्लै प्रतिस्पर्धामा उत्रिएका छन् ।
मतदान राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा भइरहेको छ । मतदान मंगलबार साँझ साढे ७ बजेसम्म चल्ने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
सभापति पदको मतगणना आज विहान सम्पन्न भएको थियो । सार्वजनिम मतपरिणामअनुसार प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले दुई हजार २५८, उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए ।
सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए ।