काठमाडौंको बागबजारस्थित काठमाडौं मोडल कलेजको होस्टलमा एक विद्यार्थीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रौतहट गरुडाका१८ वर्षीय सुशील सहनी रहेका छन् । उनी बाथरुमको गिजरमा नुहाउने क्रममा सोमबार दिउँसो २ बजेतिर बेहोस भएका थिए । बाथरुममा नुहाउने क्रममा बेहोस भएका उनलाई ४ बजे अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए । मृतक सहनी विज्ञान संकायमा अध्ययनरत थिए ।
प्रशासनको लापरवाहीका कारण सहनीको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित भएका छन् ।
विद्यार्थीहरूले प्रदर्शन नाराबाजी गर्दै बागबजारमा चक्काजाम गरेका छन् । तर, प्रहरीले बल प्रयोग गरेर विद्यार्थीलाई तितरबितर बनाएको छ । साथै २५ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
आन्दोलनरत विद्यार्थीका अनुसार ग्यास गिजरमा पानी तताएर नुहाउने क्रममा भेन्टिलेसनको कमीले सहनीको मृत्यु भएको हो ।
यस्ता घटना यसअघि पनि भएको तर ध्यानाकर्षण गराउँदा प्रशासनले नसुनेको विद्यार्थीको गुनासो छ । होस्टेल प्रशासनको लापरवाहीका कारण उनको मृत्यु भएको विद्यार्थीको आरोप छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले प्रारम्भिक अनुसन्धानमा ग्यास गिजरको कारण विद्यार्थीको मृत्यु भएको खुलेको र थप अनुसन्धान भइरहेको बताए ।