नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकता बचाउन नसेकेकोमा पछुतो लागेको बताएका छन् ।
नेकपा माओवादी केन्द्रका ८औं महाधिवेशको उद्घाटन सत्रमा बोल्दै एमाले महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।
उनले भने, ‘हामीले नेकपा एकता बचाउन सकेनौं, मलाई पछुतो लागेको छ । त्यसबाट हामीले शिक्षा लिन आवश्यक छ । नेकपा एकता गतल थिएन । राजनीतिक स्वार्थमा अल्झिँदा उद्देश्य ओझेलमा परेका छन् ।’
उनले फेरि पनि एकताका लागि इमानदार प्रयास गर्नुपर्नेमा जोड दिए । उनले नेकपाको एकता बचाउन नसक्नुमा पश्चाताप गर्दै वामपन्थी आन्दोलन लक्ष्यतिर उन्मुख हुनका लागि कार्यनीतिका विवादका कारण बेमेल र अन्तरकलहमा आधारित भएर नबहकिइकन जनताको अपेक्षा बमोजिम अघि बढ्न आवश्यक रहेको बताए ।
उनले भने, ‘राजनीतिक क्रान्ति र परिवर्तनपछि पनि जनताले खोजेको समृद्धि र विकास दिन किन सकेनौँ भन्नेबारेमा आत्म समीक्षा गर्नुपर्ने भएको छ । जनताका अधिकारका मामिलामा हामी दलहरू च्याम्पियन छौँ तर जनताका आकाङ्कक्षालाई पूरा गराउन हामीले कति सकेका छौँ भन्नेमा यस्ता महाधिवेशनमा घोत्लिएर समीक्षा गर्नुपर्छ । त्यसमा यो महाधिवेशन सफल हुन सकोस् ।’
माओवादीले सशस्त्र युद्ध सञ्चालन गर्दा रोल्पा र रुकममा तत्कालीन सरकारले दमन गर्दा त्यसको विरोधसहित शान्ति पदायात्राको नेतृत्व आफूले गरेको स्मरण गर्दै महासचिव पोखरेलले संविधानसभा र राज्य पुनःसंरचनाका माध्यमबाट मुलुकको निकास सम्भव छ भन्ने प्रस्ताव पनि आफूले अघि सारेको बताए ।
उनले नेपालको राष्ट्रियता, स्वाधीनता, वैदेशिक मामिला र आर्थिक विकासका प्रश्नमा सबै दलहरूबीच साझा धारणा बनाउन सक्नुपर्ने पनि बताए । उनले एमालेले चाहेको र माओवादी केन्द्रले चाहेके समृद्धि र समाजवादमा भिन्नता छैन भने एक ठाउँमा बसेर अघि बढ्न सकिने स्पष्ट गरे ।
उनले नेकपा एकता भंग हुँदा जनमत खण्डित भएको तर, एमालेले जनतामा जानुपर्छ भन्दा त्यसलाई प्रतिगमन भनिएकोमा दुख व्यक्त गरे । उनले बामपन्थी आन्दोलन सही बाटोमा हिँड्न नसेकेको बताए ।
उनले माओवादी केन्द्रको फेरि अध्यक्ष बन्न लागेकोमा प्रचण्डलाई शुभकामना दिए । प्रचण्डले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ म्याण्डेटका साथ अगाडि बढाउने अपेक्षा पोखरेलले व्यक्त गरे ।