नेपाली राष्ट्रिय टिमका १४ खेलाडीहरूले बन्द प्रशिक्षण बहिष्कार गरेका छन् ।
आगामी फेब्रुअरीमा हुने आईसीसी टी–२० विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आइतबारदेखि काठमाडौंमा सुरु गर्ने बन्द प्रशिक्षणका ३० जना खेलाडीलाई बोलाएको थियो । उनीहरूलाई शनिबारसम्म होटलमा रिपोर्टिङका लागि निर्देशन क्यानले दिएको थियो ।
तर, १४ खेलाडीले बन्द प्रशिक्षण बहिष्कार गर्दै होटेलमा गएका छैनन् र उनीहरु क्यानको सम्पर्कमा पनि छैनन् ।
बन्द प्रशिक्षणमा बोलाइएका राष्ट्रिय टिमका महत्वपूर्ण झण्डै ५० प्रतिशत खेलाडीले बन्द प्रशिक्षण बहिष्कार गरेपछि क्यान संटकमा परेको छ । अब कसरी बन्द प्रशिक्षण थाल्नेबारे क्यानले छलफल अगाडि बढाउने जनाएको छ ।
बन्द प्रशिक्षण बहिष्कार गर्ने खेलाडीहरूः
ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कमलसिंह ऐरी, विनोद भण्डारी, रोहित कुमार पौडेल, कुशल भुर्तेल, बिक्रम शोब, करण केसी, सुशन भारी, सन्दीप जोरा, नन्दन यादव, अविनाश बोहोरा, कुशल मल्ल ।
हालसम्म १७ जना खेलाडी मात्रै बन्द प्रशिक्षणका लागि होटेलमा गएका छन् ।
१४ खेलाडीले बहिष्कार गरेपछि बन्द प्रशिक्षण प्रभावित भएको छ । आजदेखि सुरु गर्ने बन्द प्रशिक्षण सोमबारदेखि मात्रै सुरु हुनेछ ।
क्रिकेट विवाद
नेपाल क्रिकेट संघ (क्यान) को क्यानको बोर्ड बैठकले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई कारबाही गर्दै पदमुक्त गर्नुका साथै नयाँ कप्तानमा सन्दीप लामिछानेलाई चयन गरेको थियो ।
साथै, अनुशासन उल्लंघन आरोपमा मल्ल र ऐरीसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गर्दै २०२२ को सेन्ट्रल कम्ट्रयाक्टमा ६ महिना सहभागी नगराउने निर्णय गरेको थियो ।
क्यानको उक्त निर्णयमा असन्तुष्टि जनाउँदै १४ खेलाडीले बन्द प्रशिक्षण बहिष्कार गरेका हुन् ।
संकटमा क्यान
क्यानको उक्त निणर्यको खेलाडी, समर्थन र क्यानकै केही बोर्ड सदस्यले विरोध जनाउँदै आएका छन् । अहिले क्रिकेटमा देखिएको विवाद राष्ट्रिय चासो विषय बनेको छ ।
क्रिकेट विवादबारे प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजदेखि अन्य राजनीतिज्ञ, कलाकारदेखि सर्वसाधारणले समेत चासो लिएका छन् ।
जसका कारण क्यान संटकमा परेको छ र उक्त निर्णय फिर्ता लिन क्याामाथि चौतर्फी दबाब छ ।
घोषित ३० सदस्यीय प्रारम्भिक टिम: सन्दिप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, शरद भेसावकर, करन केसी, सोमपाल कामि, आरिफ शेख, बिनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, सन्दिप जोरा, अविनाश बोहरा, सुशन भारि, पवन सर्राफ, बिक्रम सोब, भिम शार्की, रोहित पौडेल, प्रदिप ऐरी, गुल्सन झा, नन्दन यादव, जितेन्द्र मुखिया, बिबेक यादव, सौरभ खनाल, राजेश पुलामी, किशोर महतो, सागर ढकाल, हरि शंकर शाह ।