नेपाल क्रिकेट संघ क्यान र क्रिकेटरबीचको विवाद सहमतिमा पुगेको जनाइएको छ ।
तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल ऐरीलाई कारबाही गरेपछि खेलाडी र क्यानबीचको विवाद सतहमा आएको थियो ।
चार जनालाई क्यानले कारबाही गरे पनि खेल्न भने प्रतिवन्ध लगाएको थिएन । त्यसैका आधारमा आसन्न टी २० विश्वकपका लागि क्यानले बन्द प्रशिक्षणमा चारै जनालाई समेटर ३० जनाको प्रारम्भीक सूची सार्वजनिक गरेको थियो ।
आइतबारदेखि बन्द प्रशिक्षण शुरु गर्ने तयारी गरिएकोमा चार जना खेलाडीलाई कारबाही गरेपछि अरु खेलाडीहरुले पनि क्याम्प बहिष्कार गरेका थिए ।
त्यसपछि क्यानले ज्ञानेन्द्र मल्लसँग काठमाडौंको एक होटेलमा दिउँसो छलफल गरेको थियो । छलफलमा मल्ल र क्यानका पदाधिकारीहरुले आ आफ्ना कुराहरु राखेका थिए ।
त्यसपछि दुवै पक्ष सहमतिमा आएको जनाइएको छ । सहमति अनुसार सोमबारदेखि सबै खेलाडीहरु बन्द प्रशिक्षणमा सहभागी हुने छन् । क्यानसँगको छलफल पछि साथीहरुसँग थप छलफल गरेर निर्णय दिने भन्दै मल्ल निस्किएका थिए ।
क्यानले अहिलेको अवस्थामा खेलाडीहरुलाई गरेको अनुशासनको कारबाही फिर्ता लिने बताइएको छ । कप्तानको रुपमा सन्दीप लामिछाने नै रहने क्यानले प्रष्ट पारेको छ ।
बोर्ड बैठकले नै खेलाडीहरुलाई अनुशासनको कारबाही गरिएकाले अबको बोर्ड बैठकले त्यसलाई फुकवा गर्ने र खेलाडीहरुलाई सन् २०२२ मा शुरुदेखि नै केन्द्रीय सम्झौतामा समावेश गर्ने बताएका थिए । कप्तानको रुपमा भने सन्दीपले नै नेतृत्व गर्ने क्यानका पदाधिकारीहरुले बताएका छन् ।
पदाधिकारीले खेलाडी भनेको राष्ट्रका लागि खेल्ने हो, राष्ट्रको झण्डा बोकेर खेल्दा कुनै पनि बार्गेनिङ हुँदैन, कप्तानको रुपमा टिममा रहने १४ जना नै योग्य भएकाले व्यक्तिका पछि नलाग्न आग्रह गरेका थिए ।
(यस अघि कप्तान सन्दीप लामिछाने नै यथावत् रहेको हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ ।)