नारायणहिटी संग्रहालय परिसरमा रेस्टुरेन्टको लागि निर्माण भएका संरचना भत्काइएको छ ।
संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालको निर्देशन तथा उपस्थितिमा रेस्टुरेन्टका लागि निर्माण भएका संरचना भत्काइएको हो ।
नारायणहिटी दरबार संग्रहालयको करिब १० रोपनी क्षेत्र रेस्टुरेन्टले प्रयोग गर्न लागेको बतासको बि म्यानेजमेन्ट प्रालिकम्पनीसँग मासिक अढाइ लाख रुपैयाँ लिने गरी सम्झौता भएको बताइएको छ । पुरातात्त्विक क्षेत्र मानिएको नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बन्दै गरेको समाचार बाहिरिएपछि चौतर्फी आलोचना भएको थियो ।
त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि नारायणहिटी दरबार समितिले बि म्यानेजमेन्ट प्रालिलाई पत्र लेखेर अर्को आदेश नभएसम्मका लागि काम रोक्न निर्देशन दिएको थियो ।
मन्त्री आलेले नारायणहिटी प्रकरणमा बिहीबार छानबिन समिति गठन गर्दै तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइसकेका छन् ।