नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पीसीआर परीक्षण ओलीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उनलाई त्यसअघि एन्टीजेन परीक्षण गर्दा पनि पोजेटिभ देखिएको थियो ।
अध्यक्ष ओलीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि कोरोना पुष्टि भएकोछ ।
कोरोना पुष्टिपछि ओली दम्पत्ति आफ्नो निवासमा आइसोलेसनमा बसेका छन् । ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
ओलीलाई संक्रमण देखिएपछि एमालेले आज गर्ने भनेको पत्रकार सम्मेलन स्थगित गरेको छ ।
तेस्रो लहर प्रभाव
एमाले अध्यक्ष ओली यसअघिका दुईवटा लहरमा जोगिएका थिए । तर तेस्रो लहर उचाइतिर जाँदै गर्दा ओलीलाई पनि संक्रमण देखिएको हो ।
पछिल्ला केही दिनयता कुनै सार्वजनिक कार्यक्रममा सहभागी नभइ ओली बालकोटमै आराम गरिरहेका थिए । एमालेले ओलीलाई संक्रमण भएकोबारे वक्तव्यमार्फत जानकारी दिने भएको छ ।
यस अघि नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायत विभिन्न दलका केन्द्रीय तहका नेताहरूलाई पनि कोभिड सङ्क्रमण भएको थियो । पहिलो र दोस्रो लहरमा भने राजनीतिक दलका उच्च तहका नेताहरू कम मात्र सङ्क्रमित भएका थिए
महामारी जारी रहेका बेला एमालेलगायत प्रमुख राजनीतिक दलले ठूलो सङ्ख्यामा देशभरका आफ्ना कार्यकर्ता सम्मिलित गरेर महाधिवेशन समेत सम्पन्न गरेका थिए । आमसभा र भेटघाट पनि जारी राखेका थिए ।
महामारीका बीच नेताहरूले राजनीतिक गतिविधि जारी राखेको भन्दै आलोचना हुने गरेको थियो । अहिले नेताहरूले दोस्रो मात्रा कोभिड खोप लगाइसकेको र कतिपयले त तेस्रो बूस्टर मात्रा पनि लगाइसकेकाले उनीहरूमा कडा लक्षण देखिने गरेको छैन ।