सत्तारुढ नेपाली कांग्रेसले गठबन्धन नरहे पनि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता संसद्बाट अनुमोदन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
पार्टी पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले उक्त निष्कर्ष निकालेको केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री शशांक कोइरालाले जानकारी दिए ।
‘आजको बैठकमा पनि हाम्रो भनाइ भनेको एमसीसीलाई पारित गर्नुपर्छ भन्ने नै हो । ५ सय मिलियन डलरको आएको छ’, कोइरालाले बैठकमा भएको छलफलबारे भने, ‘एमसीसीबारे कांग्रेस प्रष्ट छ । आजको बैठकमा पनि त्यही कुरा भएको छ । एमसीसीबारे रहेका भ्रम जनतामा गएर सम्झाउने हो । एमसीसी नेपालको लागि राम्रो हो । अमेरिकी सेना नेपालमा आउने होइन । यो कुनै सैन्य रणनीतिसँग जोडिएको छैन । जनमानसमा रहेका भ्रम चिर्ने गरी जाने छलफल भएको छ ।’
नेता कोइरालाले पहिले एमसीसी पास गर्ने गरी अघि बढेर त्यसपछि पाँच दलीय गठबन्धनबारे सोच्नुपर्ने कुरा बैठकमा भएको पनि बताए ।
पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अग्राहमा पूर्वअर्थमन्त्री एवम् केन्द्रीय सदस्य डा. रामशरण महतले एमसीसी विशुद्ध विद्युत र बाटोको विकासका लागि भएको प्रष्ट पारेका थिए । महतले एमसीसीको विषयमा आम जनमानसलाई बुझाउनुपर्नेमा जोड दिए ।
बैठकमा स्थानीय तहको निर्वाचन र भातृ एवम् शुभेच्छुक संगठनको अधिवेशनको विषयमासमेत छलफल भएको छ ।