संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा स्वतः निलम्बनमा परेका छन् ।
नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका ९८ जना सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएसँगै जबरा स्वतः निलम्बनमा परेका हुन् ।
संविधानको धारा १ सय १ को उपधारा २ बमोजिम प्रधानन्यायाधीश जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको हो ।
उक्त धाराको उपधारा (६) ले उपधारा (२) बमोजिम महाभियोगको कारबाही प्रारम्भ भएपछि नेपालको प्रधान न्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीलाई त्यस्तो कारबाहीको टुंगो नलागेसम्म आङ्गनो पदको कार्य सम्पादन गर्न रोक लगाएको छ ।
जबरा स्वतः निलम्बितसँगै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश भएका छन् ।
कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्नेछन् । कार्की आगामी असोज महिनामा ६५ वर्ष पुग्नेछन् र उमेर हदका कारण स्वतः अवकाश हुनेछन् ।