अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बुधबार बस्ने संसद बैठकमा पेश हुने सम्भावना रहेको कांग्रेस नेताहरूले बताएका छन् ।
नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतले बुधबारको संसद् एमसीसी पेश हुनसक्ने जानकारी दिए ।
कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो अधिवेशनमा भोलि नै पेश हुने सम्भावना रहेको जानकारी दिए । उनले भने, ‘भोलिदेखि संसद् बैठक सुरु हुन्छ । संसद् बैठकमा एमसीसी भोलि नै पेश हुन्छ कि पर्सि पेश हुन्छ । यो अधिवेशनमा भोलि नै पेश हुने सम्भावना छ ।’
प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । बुधबारको बैठकमा एमसीसी सम्झौता छलफलका लागि पेश गर्नेबारे समेत बैठकमा छलफल भएको उनले बताए ।
नेता महतले एमसीसी नेपालको हितमा रहेको दाबी गरे । ‘अहिलेसम्म धेरै देशहरुमा एमसीसी चलिरहेको छ । ती देशहरुमा न अमेरिकी सेना पुगेका छन् न कुनै हस्तक्षेप भएको छ’, उनले भने, ‘हामीकहाँ मात्रै विकासका लागि आउने अनुदानबारे भ्रम फैलाइएको छ ।’
कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले भोलिको संसद बैठकमा एमसीसी टेबल हुने संकेत गरे । कांग्रेस संसदीय दलको बैठक चलिरहँदा बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘सम्भवतः भोलिको सदनमा एमसीसी पेस हुन्छ ।’
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि अमेरिकी सहयोग सम्झौता अनुमोदन गर्नेबारे केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा दर्ता गरेको प्रस्ताव पारित हुनुपर्ने बताए । उनले अबको संसद बैठकमा सो सम्झौता टेबुल हुनुपर्ने बताए ।
मंगलबार पनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका माधव कुमार नेपालबी भेटवार्ता भएको छ । सो क्रममा पनि एमसीसी बुधबार संसदमा पेश गर्ने सहमति भएको स्रोतको दाबी छ ।
यस्तै, प्रधानमन्त्री देउवाले कांग्रेस संसदीय दलको बैठक चलिरहँदा सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गरेका छन् ।