सरकारले एमसीसी परियोजना संसदमा पेश गर्ने तयारी गरेसँगै संसद् भवन बानेश्वरमा प्रदर्शन सुरु भएको छ ।
एमसीसी खारेज गर्नुपर्ने माग गर्दै सत्तारुढ दलकै भातृ संगठनदेखि सर्वसाधारण बानेश्वरमा विरोध प्रदर्शनमा उत्रिएका छन् ।
एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले निषेधित क्षेत्र तोडेपछि काठमाडौंको नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण भएको छ । त्यसपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेको छ । यस्तै प्रदर्शनकारीहरूले पनि प्रहरीमाथि ढुंगा हानेका छन् ।
नयाँबानेश्वर क्षेत्रमा गरिएको विरोध प्रदर्शनका कारण काठमाडौंको यातायात आवागमन प्रभावित भएको छ ।
सरकारले बानेश्वरमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।
विरोध
एमसीसीलाई लिएर लामो समयदेखि विरोध तथा प्रदर्शन हुँदै आएको छ ।
एमसीसी संसदमा पेश गर्ने विषमया सत्तारुढ दल नेकपा एसकै सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आपत्ति जनाएका छन् ।
एमसीसीलाई लिएर गठबन्धनमा लामो समयदेखि विवाद थियो । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी जस्ताको तस्तै अनुमोदन हुनुपर्ने पक्षमा छ ।
गठबन्धनको नेकपा माओवादी केन्द्र एमसीसीमा राष्ट्रिय सहमति जुटाउनुपर्ने र नेकपा एस संशोधन नगरेर पास गर्न नसकिने पक्षमा छन् ।
एमालेको अवरोध
आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर गर्दै आएको विरोध कायमै राख्ने जनाएको छ ।
एमालेका सचेतक विशाल भट्टराईले संसदमा पूर्ववत् कार्यक्रम कायम रहने बताए ।