ओमानमा जारी आइसिसी टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले क्यानडालाई ८ विकेटले पराजित गरेको छ ।
क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।
नेपालका लागि कुशल भुर्तेलले नटआउट ३४, दिपेन्द्र सिंह ऐरीले नटआउट २७ र आशिफ शेखले १७ रन बनाए ।
यसअघि टस जितेर ब्याटिङ राजेको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाउँदै ८० रन मात्रै बनाउन सक्यो ।
क्यानडाका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । उसका १० औं नम्बरका ब्याटर डिलन हेलिगर सर्वाधिक २४ रनमा अविजित रहे । कप्तान नवनित धालिवालले १८, रायन पठानले १४ र सलमान नजरले १० रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले ३, कमल सिंह ऐरीले २, अविनाश बोहराले २, कुशल मल्ले १ विकेट लिए ।
यो जितसँगै नेपाल समूह १ बाट अपराजित रहँदै विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ ।
सेमिफाइनलमा नेपालले मंगलबार युएईसँग खेल्नेछ । उक्त खेलमा जित हात पारे नेपालले यो वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्नेछ ।