प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्ता भएको छ ।
अमेरिकी सहयोग परियोजना च्यालेन्ज (एमसीसी)बारे सत्तारुढ दलका शीर्ष नेताहरुबीच छलफल सकेर अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।
सो भेटमा एमसीसीबारे छलफल भएको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता प्रतिनिधिसभामा छलफल प्रारम्भ हुन लागेकाले सहयोग गर्न प्रचण्डलाई आग्रह गरे ।
यसअघि नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको कार्यालय सिंहदरबारमा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, नेताद्वय देव गुरुङ र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालबीच एमसीसीका विषयमा छलफल भएको थियो ।
सिंहदरबारको छलफलमा प्रतिनिधिसभामा आजदेखि सुरु हुन लागेको एमसिसी सम्झौताका सन्दर्भमा कसरी अगाडि बढ्ने भन्नेबारेमा विचारविमर्श भएको बताइएको छ ।
आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकमा एमसीसीबारे छलफल हुने कार्यसूची छ ।