रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही को घोषणा गरेका छन् ।
जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत् पछिल्लो घोषणा गरेका हुन् ।
यसअघि युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जबाफ नदिएको बताएका थिए । राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले झन्डै २,००,००० सेना र हजारौँ लडाकु गाडी तैनाथ गरेको बताएका छन् ।
बिहीवार बिहानको सम्बोधनका क्रममा पुटिनले पूर्वी युक्रेनमा तैनाथ गरिएका सेनालाई हतियार त्याग्न आग्रह गरेका छन् ।
कसले के भने ?
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले सेनालाई आक्रमणबाट रोक्न पुटिनलाई आग्रह गरेका छन् । राष्ट्रपति पुटिनले उनलाई शान्तिको मौका दिन आह्वान गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनले ‘रुसी सैन्य फौजको उक्साहटबिनाको र औचित्यहीन हमला’विरुद्ध बोलेका छन् । ‘पूरा विश्वको प्रार्थना यतिखेर युक्रेनका मानिसहरूसँग छ’, उनले भने, ‘राष्ट्रपति पुटिनले दुर्भाग्यपूर्ण ढङ्गले मानवीय क्षति र पीडा निम्त्याउने योजनाबद्ध युद्ध रोजेका छन् ।’
आफूले ह्वाइट हाउसबाट अवस्थाको निगरानी गरिराखेको बताउँदै उनले जी–सेभेन नेताहरूसँग सबेरै भेटेर रुसमाथि ‘थप परिणामहरू’ घोषणा गरिने बताए ।
संयुक्त राष्ट्रसङ्घका लागि युक्रेनका राजदूत सेर्गेई किजलिटाले राष्ट्रसङ्घका लागि रुसी राजदूतले आफ्ना राष्ट्रपतिले ‘मेरो देशमा युद्ध घोषणा गरेको’ पुष्टि गरेको बताएको रोयटर्स समाचार संस्थाले जनाएको छ ।
हमला सुरु
युक्रेनको आन्तरिक मन्त्रालयले समाचार संस्था सीएनएनलाई भनेको छः ‘हमला सुरु भएको छ ।’
तर, टेलिभिजन सम्बोधनका क्रममा राष्ट्रपति पुटिनले युक्रेनमाथि कब्जा गर्ने कुनै योजना नरहेको बताएका छन् । विशेष सैन्य कारबाहीको घोषणा गर्ने क्रममा उनले आफ्नो देश कसले चलाउँछ भन्ने स्वतन्त्र रूपमा रोज्ने अधिकार युक्रेनी जनतालाई भएको बताए ।
बिहीवार बिहान जारी गरिएको नोटिस टु एअरमेन (नोटम) अनुसार युक्रेनको हवाई क्षेत्रमा यात्रुवाहक विमान उडाउन ‘नागरिक उड्डयनका लागि सम्भावित खतराका कारण प्रतिबन्धित छन्’ भनिएको फ्लाइटरेडार डेटा ट्र्याकिङ वेबसाइटले जनाएको छ ।
युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले ट्विट गर्दै भ्लादिमिर पुटिनले ‘‘युक्रेनमाथि पूर्ण स्तरको आक्रमण शुरू गरेको’’ बताएका छन् । समाचार संस्था रोयटर्सका अनुसार युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमाथि रुसले क्षेप्यास्त्र हमला गरेको पुष्टि गरेका छन् ।
युक्रेनको सशस्त्र फौजले पाँचवटा रुसी विमान र एउटा हेलिकप्टर खसालिदिएको जनाएको छ । ‘शान्त रहनुहोस् र युक्रेनी रक्षकहरूमाथि विश्वास गर्नुहोस्’, सशस्त्र फौजले आफ्नो वक्तव्यमा भनेको छ ।
रुसले युक्रेनी सैन्य पूर्वाधारहरूलाई निशाना बनाइरहेको जनाएको छ ।
सैन्य कानुन लागु
युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले उनको राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्लाई सैन्य कानुन लागु गर्न भनेका छन् ।
त्यसबारे निर्णय गर्न उक्त परिषद्ले आकस्मिक बैठक बोलाउने अपेक्षा गरिएको छ ।
तेलको भाउ उच्च
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा सैन्य कारबाही घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ सात वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । तेलको मूल्य एक्कासी बढेर प्रतिब्यारल सय डलर पुगेको हो ।
सुनको भाउ एक वर्षयताकै उच्च बिन्दुमा पुगेको छ भने अमेरिकी डलर र जापानी येन बलियो भइरहेका छन् । नेपाली बीबीसी तथा विभिन्न समाचार एजेन्सीको सहयोगमा